काठमाडौं । २ नम्बर प्रदेशको स्थायी राजधानी जनकपुर तोकिएको छ । प्रदेशसभामा आज भएको मतदानमा प्रदेश सभामा उपस्थित कुल ९९ सांसदमध्ये ७८ जनाले यो प्रस्तावको पक्षमा मतदान गरेपछि प्रदेश २ को राजधानी जनकपुर कायम भएको हो ।
सभामुख सरोजकुमार यादवले प्रदेशसभामा तत्काल रहेका १०४ जना सांसदमध्ये ७८ सांसद दुई तिहाइभन्दा बढी मत रहेको भन्दै प्रदेशको स्थायी राजधानी जनकपुर भएको घोषणा गरे । दोस्रो पटकको प्रयासमा राजधानी कायम भएको हो । यसअघि ३ चैत २०७६ मा मतदान हुँदा पनि राजधानी तोकिन सकेको थिएन ।
स्थायी राजधानीको टुंगो लगाएसंगै प्रदेशसभाको बैठक एक घण्टाको लागि स्थगित भएको छ । प्रदेश सभा सचिवालयका अनुसार आजै प्रदेशको नाम सम्बन्धी प्रस्ताव अगाडि बढाउने तयारी छ । प्रदेशको नाममा चारवटा नाम प्रस्ताव भएको छ । जसमा मधेश प्रदेश, जानकी प्रदेश, मिथिला भोजपुरा प्रदेश र मध्य प्रदेश रहेका छन् ।
प्रदेश २ को राजधानी तथा नामाकरण सम्बन्धी अध्ययन विशेष समितिले स्थायी राजधानीका लागि शुरुमा ७ वटा प्रस्ताव ल्याएको थियो । पछि त्यसलाई परिमार्जन गरी तीनवटा बनाएको थियो ।
जसमध्ये जनकपुरमा दुई तिहाइ बहुमत मत प्रकट भएको हो । प्रस्तावअनुसार अब प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुरको केन्द्र भई उत्तरमा ढल्केवर पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला माध्यमिक परिक्रमा सडक र दक्षिण नेपालको सीमाना कायम हुनेछ ।