काठमाडौं । साविक विजेता नेपालले उज्वेकिस्तानमाथि रोमाञ्चक जित हात पार्दै एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधिमाथि कब्जा जमाएको छ ।
बंगलादेशको ढाकामा मंगलबार भएको प्रतिस्पर्धात्मक तथा रोमाञ्चक फाइनल खेलमा नेपालले उज्वेकिस्तानलाई ३-२ को सेटमा हराएको हो । निकै नै प्रतिस्पर्धात्मक पहिलो सेट नेपालले ट्राइब्रेकरमा २६-२४ ले जितेको थियो ।
सुरुवातदेखि नै उज्वेकिस्तानले खेलमा अग्रता बनाए पनि नेपालले १८-१८ मा अंक बराबरी गरेको थियो । त्यसपछि पनि निकै प्रतिस्पर्धात्मक खेल २४-२४ मा पुग्दा नेपालले ट्राइब्रेकरमा बाजी मारेको हो ।
दोस्रो सेटमा पनि उज्वेकिस्तानले सुरुवातदेखि नै अग्रता बनायो । नेपाल १९-२३ ले पछि रहेको अवस्थामा उज्वेकिस्तानका प्रशिक्षकले खेल भावना विपरीत निर्णायकको निर्णयलाई नमान्दा रेफ्रीले रातो कार्ड देखाए । जसले गर्दा नेपालले अंक जोड्दै सर्भिस पनि पाएको थियो । त्यसपछि नेपालले खेल २४-२४ मा पुर्याउन सफल भएपनि दोस्रो सेट ट्राइब्रेकरमै २४-२६ ले गुमाएपछि उज्वेकिस्तानले खेलमा पुनरागमन गरेको थियो ।
तेस्रो सेटमा भने नेपालले २५-१५ ले सहजै जित्दै खेलमा २-१ को अग्रता बनायो । १०-११ ले पछि परेको नेपालले लगातार ८ अंक जोड्दै १८-११ को अग्रता बनाउँदै खेल २५-१५ ले सहजै जित्यो ।
तर चौथो सेटमा उज्वेकिस्तानले फेरि कमब्याक गर्दै २५-२२ ले सेट आफ्नो पक्षमा पार्दै खेल २-२ को अवस्थामा पुर्यायो । त्यसपछि पाँचौँ तथा निर्णायक सेट १५-११ ले नेपालले उपाधि जित्ने सफलता प्राप्त गरेकै हो ।