काठमाडौं । नेकपा माओवादीका नेता वर्षमान पुनले चिनियाँ उपमन्त्री चेन झाओसँग भेटवार्ता गरेका छन् । उपचारका क्रममा चीनको सेनजेनमा रहेका उनले उपमन्त्री झाओ नेतृत्वको टोलीसँग भेटवार्ता गरेका हुन् ।
काठमाडौंमा पार्टीको आठौँ महाधिवेशन चलिरहेका बेला पुन र चिनियाँ उपमन्त्री झाओबीच भेटवार्ता भएको हो । स्वास्थ्यको कारण देखाउँदै महाधिवेशनमा सहभागी नभएका पुनले झाओ नेतृत्वको टोलीसँग भेटवार्ता गरेका हुन् ।
झाओको टोलीसँग पुनको भेटवार्ता हुँदा पुनकी पत्नी पूर्वसभामुख तथा माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्ती पनि सहभागी थिइन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको परामर्शमा नेता पुनले चिनियाँ उपमन्त्रीसँग दुई देशबीचको सम्बन्ध, चिनियाँ कम्युनिष्ट पार्टी र माओवादी केन्द्रको सम्बन्ध विस्तारलगायतका विषयमा कुराकानी गरेको बताएका छन् ।
पुनका अनुसार नेपालको समसामयिक राजनीति, वामपन्थीहरुबीचको सहकार्य र एकता, आगामी चुनावमा हुने तालमेल तथा वाम घटकहरुका बीचको पार्टी एकताका विषयमा पनि चिनियाँ मन्त्रीले चासो राखेका छन् ।
सो भेटवार्ताका क्रममा पुनले अहिलेको पाँचदलीय गठबन्धन आगामी चुनावसम्म जाने र त्यसपछि पनि सहकार्य गर्न तयार रहेको बताएका छन् ।
वंशाणुगत तथा विश्वमा विरलै देखिने जण्डिस रोगका कारण करिब ३ महिनादेखि पुन उपचाररत् छन् । जण्डिस दोहोरिएपछि नेता पुन असोज १३ मा बैंककतर्फ लागेका थिए । उनको १० मंसिरदेखि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पिटल अफ सेनसेजमा उपचार भइरहेको छ ।