काठमाडौं । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । एपिएफले प्रदेश १ लाई सात विकेटले हराउँदै उपाधि जितेको हो ।
एपिएफले ३४ बलअघि नै सहज जित पाएको थियो । जितका लागि ६७ रनको सामान्य लक्ष्य पछ्याएको एपिएफले १४ ओभर २ बलमा ३ विकेट गुमाउँदै ६८ रन बनायो ।
एपिएफको जितमा विकेट किपरसमेत रहेकी ब्याटर ज्योति पाण्डेले ३९ बलमा ६ छक्कासहित सर्वाधिक ३६ रन बनाइन् । यस्तै ममता चौधरी २३ बलमा २ चौकासहित १९ रनमा अविजित रहिन् ।
प्रदेश १ की कप्तान रुविना क्षेत्रीले एक्लै ३ विकेट लिइन् । ४ ओभर बलिङ गरेकी रुविनाले १ मेडन राख्दै १० रन खर्चिएकी थिइन् ।
यसअघि धनगढीको फाप्ला क्रिकेट मैदानमा कप्तान सीता राना मगरले घातक बलिङ गरेपछि विभागीय टोली एपिएफले उपाधि जित्न ६८ रनको सामान्य लक्ष्य पाएको थियो । टस हारेर ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ६७ रन बनाएको हो ।
प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले ४६ बलमा ३ चौकासहित सर्वाधिक ३४ रन जोडिन् । यस्तै अप्सरी बेगमले ३४ बलमा १ चौकासहित ११ रनको योगदान दिइन् । अन्य खेलाडीले भने दोहोरो अंक बनाउन सकेनन् । एपिएफकी सीता राना मगरले सर्वाधिक ३ विकेट लिइन् । रेखा रावलले २ र करुणा भण्डारीले १ विकेट लिइन् ।