काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत एएफसी छनोटको रुपमा हेरिएको मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबबीचको ‘महाभिडन्त खेल’ फिफा रेफ्री प्रज्वल क्षेत्रीले खेलाउने भएका हुन् ।
शनिबार तय दोस्रो खेलमा युवा फिफा रेफ्री प्रज्वल क्षेत्री रेफ्रीको भूमिकामा रहँदा सहायक रेफ्रीमा फिफा नानिराम थापा र शुक्र तामाङ रहनेछन् । यस्तै फोर्थ रेफ्रीमा कबिन ब्यन्जनकार रहने रेफ्री स्रोतले बतायो ।
यसअघि रेफ्री बिभागले तुफान कुमार लिम्बुलाई सहायक रेफ्रीको भूमिका दिए पनि उनको नाम काटेर अन्तिममा नानीरामलाई जिम्मेवारी दिइएको हो । धनकुटाका तुफानले पहिलो पटक पोखरामा नेपाल पुलिस र मनाङको खेल खेलाउदै शीर्ष डिभिजनमा डेब्यू गरेका थिए ।
प्रज्वल र कबिन फिफा रेफ्री हुन् भने नानीराम फिफा सहायक रेफ्री हुन् । यता शुक्र भने ए श्रेणीका राष्ट्रिय सहायक रेफ्री हुन् । पछिल्लो समय क्लबहरुले बिना अनुभव रेफ्रीलाई खेल खेलाउन दिँदा खेल नै बिग्रिएको भन्दै गुनासो गरेका थिए । जसमा एन्फा विभाग सतर्क रह्यो ।
यसपटक लिग जारी रहँदा एएफसी क्लब लाइसेन्स हुने टोली सातौं चरणमा शीर्ष स्थानमा रहँदा एएफसी प्रतियोगितामा छनोट हुने पक्का छ ।
जारी लिगमा मछिन्द्रलाई २ अंकले पछि पार्दै मनाङ शीर्ष स्थानमा छ । साँझ हुने पौने ५ बजेको खेलमा भिड्दै छन् मनाङ र मछिन्द्र । दुबै टोलीको लक्ष्य खेल जित्दै तीन अंक जोड्ने हुनेछ ।
आजको जितले मनाङ शीर्षस्थानमा रहँदै एएफसी कपमा छनोट हुनेछ । यदि मछिन्द्रले जिते सातौं चरणको खेलले छनोटमा पुग्ने टोलीको निर्णय गर्नेछ ।