काठमाडौं । आफूहरुमाथि नेपाल क्रिकेट संघ ९क्यान० ले गरेको कारवाही र वर्गीकरणमा पुनर्विचार गर्न ज्ञानेन्द्र मल्लसहित चार क्रिकेटरले माग गरेका छन् ।
नक्सालस्थित होटल क्राउन प्लाजामा आज पत्रकार सम्मेलन गर्दै कप्तानबाट हटाइएका मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीले देशका लागि खेलिरहँदा खेलाडीहरुमाथि क्यानले पटक–पटक अपमान गरेको गुनासो गर्दै बल र ब्याट छाड्ने चेतावनी समेत दिएका छन् ।
जिम्मेवारीबाट हटाउनुको साथै ६ महिनासम्म सेन्ट्रल कन्ट्र्याक्टमा नराख्ने जस्ता कारबाही गरिएकोप्रति गुनासो गर्दै उनीहरुले आफ्नो अधिकारका लागि आवाज उठाएकै आधारमा देशका लागि वर्षौँ खेलेका, आफ्नो इच्छा आकांक्षा मारेर क्रिकेटमा लागेका खेलाडीहरुलाई कारबाही हुने परम्पराले भोलिका दिनमा नयाँ पुस्ता कसरी आकर्षित हुन्छन् ? भन्ने प्रश्न पनि गरेका छन् ।
क्रिकेटमा देखिएका सबै समस्या हल गर्न क्यानले अभिभावकीय भूमिका खेल्दै आफूहरुमाथि गरिएको निर्णयलाई पुनर्विचार गर्न माग गर्दै उनीहरुले क्रिकेटमा भविष्य खोजिरहेका खेलाडीहरूले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था नआओस् भन्ने चेतवानी दिएका छन् ।
क्यानको बुधबार सम्पन्न बोर्ड बैठकले राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट मल्ललाई बर्खास्त गरेको थियो । त्यस्तै उपकप्तानबाट दीपेन्द्र सिंह ऐरीलाई जिम्मेवारीबाट हटाउने निर्णय पनि गरेको थियो । त्यस्तै क्यानले खेलाडी आचार संघीता उल्लंघनमा मल्ल सहित दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् २०२२ को केन्द्रिय सम्झौताबाट सुरुको ६ महिनाको लागि सहभागी नगराउने निर्णय गरेको छ ।