जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेसले तीनै तहको चुनाव एक्लै लड्ने बताउनुभएको छ ।
बिहीबार जनकपुरमा कांग्रेस प्रदेश २ को प्रथम अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपसभापति निधिले बहुमतको सरकारका लागि कांग्रेसले तीनै तहमा एक्लै चुनाव लड्नुपर्ने बताउनुभयो । संविधान र संघीय लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने बताउँदै उपसभापति निधिले भन्नुभयो, ‘यदि हामी अन्य पार्टीसँग चुनावमा सहकार्य गरेर गयौँ भने कांग्रेसको सिट कम हुन जान्छ । यस्तोमा कांग्रेसले चुनावमा बहुमत ल्याउन सक्दैन । त्यसैले प्रतिनिधिसभाको १६५ सिट, प्रदेशसभाको ३३० सिट, पालिकाको ७५३ सिट र वडाको ६ हजार ७४३ वटै सिटमा कांग्रेसले एक्लै उम्मेद्वारी दिनुपर्छ ।’
कांग्रेसका लागि मधेस उर्वराभूमि रहेको निधिले बताउनुभयो । कथित मधेशवादी दलहरूले लामो संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न नसक्ने निधिको दाबी छ ।
‘नेपालको हरेक राजनीतिक परिवर्तनको अगुवाइ कांग्रेसले गरेको छ । संघीय लोकतान्त्रिक व्यवस्थाको संस्थागत पनि कांग्रेसले मात्रै गर्न सक्छन् । त्यसकारण हामी अन्य पार्टीभन्दा कांग्रेस जनताप्रति बढी जवाफदेही छौं,’ उहाँले भन्नुभयो । पार्टीको १४औं महाधिवेशन निर्वाचनको महाधिवेशन रहेकोले यो महाधिवेशनबाट पार्टीको कुनै नीति तथा कार्यक्रम वा कुनै प्रस्ताव पास नहुने उपसभापति निधिले बताउनुभयो ।
पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश २ का अधिवेशन संयोजक रमेश रिमालको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा कांग्रेस कोषाध्यक्ष सितादेवी यादव, पूर्व कोषाध्यक्ष चित्रलेखा यादव, केन्द्रीय सदस्य आनन्द ढुंगाना, महेन्द्र यादवलगायतले मन्तव्य राखेका थिए ।