चितवन । काठमाडौँमा आफन्तको निधन भएपछि रत्ननगर टाँडीका सरोज अधिकारीलाई सोमबार नै काठमाडौँ जानुपर्ने भयो । तर, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले मंगलबारका लागि नेपाल बन्दको आह्वान गरेकाले काठमाडौँ जाने गाडी एकदमै कम भेटिएका थिए । नारायणगढ पुलचोक पुगेपछि धेरै गाडी भेटिने आशमा उहाँ सोमबार साँझ बुटवल जाने गाडी चढेर पुलचोक ओर्लिनुभयो ।
पुल्चोकमा पनि उहाँले सोचेजसरी काठमाडौँ जाने गाडी आएका थिएनन् । राति ८ बजेसम्म गाडी कुर्दा पनि गाडी नआएपछि उहाँ टोलाएर बस्नुभएको थियो । त्यत्तिकैमा एक जना व्यक्ति आएर काठमाडौँ जाने ट्याक्सी तयार रहेको बताए । उहाँ ट्याक्सी चढ्नुभयो । ट्याक्सीमा अरु यात्रु पनि थिए । ट्याक्सी चालकले एक हजार भाडा लाग्ने बताए ।
बीच बाटोमा पुगेर अलपत्र परेका उहाँले एक हजार रुपैयाँ भाडा तिर्ने सहमति भयो । तर, ट्याक्सी चालकले मादक पदार्थ सेवन गरेका रहेछन् । अलि पर पुगेपछि ट्याक्सीबाट ओर्लेर उहाँ पुनः पुल्चोकमै पुग्नुभयो ।
‘आफन्त बितेर जानै पर्ने भएर यहाँसम्म आइयो । मंगलबार बन्द रहेछ । गाडी पाउनै सकिएन,’ उहाँले गुनासो गर्नुभयो, ‘जति भाडा मागे पनि तिर्छु भनेर चढेको थिएँ । ड्राइभरले त रक्सी पो धोकेको रैछ । उ..पर पुगेर झरेर आएँ ।’
करिब आधा घण्टा कुरेपछि ग१ख ९११२ नम्बरको बस आइपुग्यो । काठमाडौँ जानका लागि पुल्चोक पुगेर गाडी कुर्नेको भिड थियो । गाडीले ‘काठमाडौँ..काठमाडौँ’ जाने भनेपछि यात्रु गाडीको पछि दगुरे । गाडीका साहुले आठ सय रुपैयाँ भाडा लाग्ने बताए ।
मंगलबार काठमाडौँ नपुगिनहुने सरोज जस्ता केही यात्रु आठ सय रुपैयाँ भाडा भने पनि गाडीको सिटमा गएर बसे । नारायणगढदेखि काठमाडौँको वास्तविक बस भाडा साढे चार सय रुपैयाँ हो ।
भाडा महँगो मानेका केही यात्रुले भने ‘किन यति धेरै महंगो ?’ भनेर गाडी सहचालकलाई प्रश्न गरे ।
वैदेशिक रोजगारीमा जानुपूर्व तालिम लिन काठमाडौँ जान लागेका भरतपुर महानगरपालिका–९ का दिनेश रेग्मीले मंगलबार बन्द भन्दैमा बढी भाडा असुल्न पाइन्छ ? भन्दै प्रश्न गर्नुभयो । सहचालकले भने काठमाडौँको वास्तविक भाडा पाँच सय भए पनि बाध्यतामा पर्ने यात्रु जसरी पनि आठ सय रुपैयाँ तिरेर जाने खुलाए ।
‘भोलि बन्द छ । जानै पर्छ । अफिसतिर जानुपर्ने मान्छे झन् जानैपर्छ । नेपाल बन्द भए पनि अफिस त पुग्नै पर्याे,’ उहाँले भन्नुभयो, ‘पाँच सयमा त हुँदैन । भोलि बन्द छ । आठ सय नै हो भाडा ।’ पाँच सय रुपैयाँमा मिलाउन आग्रह गर्दा पनि गाडीवालाले भाडा नमिलाएको रेग्मीले गुनासो गर्नुभयो ।
‘गाडी नै नपाइने । पाए पनि अचाक्ली महँगो । त्यही भएर अर्काे दिन जानुपर्ला भनेर फर्किएँ,’ रेग्मीले भन्नुभयो । त्यसअघि उहाँले काठमाडौँ जाने माइक्रो फेला पार्नुभएको थियो । मुढामा बसेर गए पनि पाँच सय रुपैयाँ भाडा लाग्ने भनेपछि आफू नचढेको उहाँले बताउनुभयो ।
गाडीले भाडा महँगो भनेपछि उहाँले प्रहरीलाई पनि जानकारी गराउनुभयो । पुल्चोकमा खटिएका एकजना प्रहरी गाडीभित्र पसेर भाडा महंगोको विषयका गुनासो भए बताउन आग्रह गरे । बाध्यात्मक अवस्थाका यात्रु चुपचाप बसे ।
विप्लव माओवादीको बन्दका कारण धेरै यात्रुले सास्ती पाएका छन् । यही बन्द यातायात व्यवसायीलाई भने मौकामा चाैका भएको छ । चाडपर्व होस् वा अन्य कुनै आपत् परेको बेला होस् । यातायात व्यवसायीले यात्रुलाई लुट्नुसम्म लुटेका हुन्छन् ।