डडेल्धुरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले डडेल्धुरामा एयरपोर्ट बन्ने बताउनुभएको छ । डडेल्धुरा सदरमुकाममा बुधबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले डडेल्धुरामा एयरपोर्ट बनाउन आफूले बजेट विनियोजन गर्ने बताउनुभयो ।
उहाँले डडेल्धुराको अजयमेरू गाउँपालिका-१ पुइलेकमा विमालस्थल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री आलेले मंगलबारदेखि नेपाल नागरिक उड्डयन प्राधिकरणका उपप्रवन्धक नलविक्रम थापाको प्राविधिक टोलीले सर्भे गरिरहेको जानकारी गराउनुभयो ।
उहाँले आफू काठमाडौं फर्किएलगत्तै वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)का लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गर्ने पनि बताउनुभयो । ईआईएको काम सकिएलगत्तै विमानस्थल निर्माणका लागि जति बजेट चाहिए पनि आफ्नो मन्त्रालयबाट त्यसको व्यवस्थापन गर्ने मन्त्री आलेले प्रतिबद्धता जनाउनुभयो ।
साथै उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले पनि यस विमानस्थलको काम छिटोभन्दा छिटो अगाडि बनाउन पनि निर्देशन दिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूले छिटोभन्दा छिटो काम अघि बढाउनुपर्यो भन्नुभएको छ। तपाईंहरू ढक्क हुनुहोस् डडेल्धुरामा एयरपोर्ट बन्छ ।’