पोखरा । कास्कीमा यो वर्ष बाहिरी मुलुकबाट फूल ल्याउनुपर्ने बाध्यता करिब हटेको छ । स्थानीय उत्पादनले नै माग धान्ने भएपछि आयातित फूललाई निरूत्साहित गरिएको हो । कास्की फूल खेतीमा करिब आत्मनिर्भर भइसकेको छ । अघिल्ला वर्षहरूमा करिब सबैजसो तिहारको माला भारत र अन्य जिल्लाबाट आउने गरेकोमा यो वर्ष १० प्रतिशत मात्र आयात हुने व्यवसायीहरूले बताएका छन् ।
अहिले कास्कीसहित स्याङजा, बागलुङ, धादिङ, गोरखालगायत आसपासका जिल्लाबाट आएको फूलले माग धान्ने फ्लोरिकल्चर एसाेसियसन कास्कीका अध्यक्ष डिलबहादुर गुरुङले जानकारी दिनुभयो । ‘५० प्रतिशतभन्दा बढी माग पोखराकै उत्पादनले चल्छ । अरु फूल पनि नजिकका जिल्लाबाट आउँछन्,’ उहाँले भन्नुभयो, ‘बाहिर देशबाट फूल ल्याउनुपर्ने बाध्यता छैन । हामी नै पुर्याउछौं ।’
कास्कीमा मात्र ४० हाराहारीमा व्यवसायिक किसान छन् । सबैले कम्तीमा एक रोपनी जग्गामा सयपत्री फूल लगाएका छन् । तिहारमा अरु किसानले पनि खेती गर्छन् । घर, झ्याल, ढोकामा पनि राख्न अझै हाम्रो उत्पादनले धान्दैन । ति फूल बाहिरैबाट ल्याउनुपर्छ,’ उहाँले अघि थप्नुभयो, ‘गलामा लगाउने फूल भने पुग्छ ।’ केही वर्ष कोरोना र लकडाउनका कारण उत्पादिन फूलसमेत बिक्री भएन । अहिले तिहारको सुरुदेखि नै उत्साहजनक रुपमा विक्रि भइरहेको व्यवसायीले बताए ।
यस वर्ष कास्कीमा प्रतिथुँगा पाँच रुपैयाँ र माला १३० देखि १५० सम्म बिक्री मूल्य तोकिएको छ । नेपालमा बिउ नपाइने भएकोले खेती गर्न समस्या परेको किसानहरूको भनाइ छ । बिउहरू थाइल्यान्ड, होल्यान्ड, अमेरिकालगायत देशहरूबाट ल्याएका छन् । यो वर्षको तिहारमा मात्र तीन करोडभन्दा बढीको माला बिक्री हुने अनुमान छ । ‘साढे २ देखि ३ करोडको फूल तिहारमा मात्रै विक्रि हुन्छ । तिहार पोखरामा मनाउने संस्कार बढेको छ,’ गुरुङले अघि थप्नुभयो, ‘त्यसैले छिमेकी जिल्लाले पनि यहाँ फूल ल्याउँछन् । मूल्य पनि राम्रो छ, पोखरामा ।’
पोखरामा तिहारबाहेकका समयमा पनि फूलको माग अत्यधिक बढेको छ । एउटै नर्सरीले दैनिक ५० देखि एक लाखसम्म फूल विक्री गर्ने गरेको तथ्यांक छ । फूल बिक्री राम्रो भएपछि किसानहरु यसतर्फ झनै आकर्षित छन् ।