अछाम । दुई सातादेखि अज्ञात रहेका अछामका एक पुरुषको शव भेटिएको छ । कमलबजार नगरपालिका-५ कुईका ३४ वर्षीय रेशमराज तिमिल्सेनाको शव साेमबार भेटिएको हो । १४ दिनसम्म नेपाल प्रहरीको सबै संयन्त्र लगाएर खोजी कार्य गरिए पनि तिमिल्सैनाको अवस्था अज्ञात थियो ।
गएको २ कात्तिकमा गैरिटाँडबाट बेपत्ता भएको भनिएका तिमिल्सेनाको शव १४ दिनपछि गैरिटाँड बजार नजिकैको बाँसको झाडीमा भेटिएको हो । अहिले अछाम जिल्लाका प्रहरी प्रमुख तुल्सीराम अर्यालसहितको टोली गैरिटाँड पुगेको छ । तिमिल्सेनाका आफन्तसँग प्रहरीको छलफल भइरहेको छ ।
तिमिल्सेनाका आफन्तले गैरिटाँड बजार बन्द गरेका छन् । आफन्त र स्थानीय मिलेर सडकमा चक्का जाम गरिएको छ । रहस्यमय तरिकाले घटना भएको भन्दै उनीहरू आक्रोशित भएका छन् । शव फेला परेको स्थानमा प्रहरीले कसैलाई जान दिएको छैन ।
काठमाडाैंबाट समेत अनुसन्धानको टिम अछाम आएर खोजीकार्य भए पनि १३ दिनसम्म तिमिल्सेनाको अवस्था पत्ता लागेको थिएन । तिमिल्सेना बसेकै ठाउँ नजिकै उनकाे शव फेला पर्नुले घटना रहस्यमय भएको परिवारको आरोप छ । ३१ असोजमा मंगलसेनबाट घर फर्किने क्रममा गैरिटाँडकै एक होटलमा बसेका तिमिल्सेना बेपत्ता भएकाे बताइएकाे थियाे । उनी कांग्रेसका क्षेत्रीय प्रतिनिधिसमेत हुन् ।
– कल्पना बोहरा