सिमकोट । हुम्लाकाे नाम्खा गाउँपालिकास्थित हिल्सा र लिमीको ट्रेकिङमा हिँडेका विदेशी पर्यटकसहित १२ जना बाक्लो हिमपातले लिमी क्षेत्रको तुम्लिङमा राेकिएका छन् ।
लिमीको ट्रेकिङ सकेर सिमकोट फर्कदै गर्दा आइतबार रातिबाट परेको बाक्लो हिमपातले बाटो छिचोल्न नसकेपछि स्लोभेनियाका चार नागरिक, तीनजना गाइड र पाँचजना स्थानीय गरी १२ जना तुम्लिङमा रोकिएकाे प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभयो ।
ट्रेकिङमा आएका स्लोभेनियाका नागरिकको उद्धारका लागि हेलिकोप्टरको व्यवस्थाका लागि गृह मन्त्रालयसँग समन्वय भइरहेकाे प्रजिअ आचार्यले जानकारी दिनुभयो । प्रजिअका अनुसार बुधबार मौसम सफा नभएको कारण उद्धार हुन सकेन ।
उद्धारका लागि हेलिकोप्टर मगाइएको र बिहीबार उद्धार गरिने जिल्ला प्रशासन कार्यालय स्रोतले जानकारी दिएको छ । हिमपातका कारण नाम्खा गाउँपालिका-६ को लिमीको न्यालु लेकको बाटो अवरुद्ध हुँदा उनीहरुले बाटो छिचोल्न सकेका छैनन् ।
२२ असोजमा सिमकोटबाट हिल्सा हुँदै लिमीको ट्रेकिङमा गएकाे टोली र ट्रेकिङपछि न्यालु लेक हुँदै सिमकोट आउने कार्यक्रम थियाे । तर न्यालु लेकमा बाक्लो हिमपात भएपछि फर्कन नसकेकाे रिऋा टुरका हुम्ला प्रतिनिधि पेमा लामा बताउनुभयो । न्यालु लेकमा तीन फिटभन्दा बढी हिमपात छ । हिमपात भएपछि बाटाे अवरुद्ध बनेकाे नाम्खा गाउँपालिका-६ को वडाध्यक्ष पाल्जोर तामाङले बताउनुभयो ।