धनगढी । अविरल वर्षासँगै सुदूरपश्चिममा आएको बाढी पहिरोमा परेर फसेका नागरिकको उद्धारका लागि प्रदेश सरकारले पहाडी जिल्लामा हेलिकोप्टर पठाउने तयारी गरेको छ ।
मंगलबार मौसम अनुकूल नहुँदा पहाडी क्षेत्रमा हेलिकोप्टर पठाउन सकिएको थिएन । आज मौसममा केही सुधार भएसँगै बैतडी र बझाङस्थित बाढीपहिरोमा परेर फसेका नागरिकको उद्धारका लागि हेलिकोप्टर पठाउने तयारी गरिएको आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले बताउनुभयो ।
प्रदेश सरकारकी प्रवक्तासमेत रहनुभएकी मन्त्री जोशीले उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाइने बताउनुभयो । ‘पहाडी क्षेत्रमा सञ्चार सेवा विच्छेद हुँदा जोखिमको पूर्ण जानकारी आएको छैन,’ मन्त्री जोशीले भन्नुभयो, ‘केही स्थानमा हिजोदेखि मानिस फसेको भन्ने जानकारी आएको छ । ती स्थानमा तत्कालै हेलिकोप्टर पठाउने तयारी गरिएको छ ।’