काठमाडौं । सोमबारदेखिको अविरल वर्षापछि आएको बाढीपहिरो तथा डुबानले सुदूरपश्चिममा ठूलो जनधनको क्षति भएको छ । अझै पनि वर्षा भइरहँदा उद्धार तथा राहतमा कठिनाइ भइरहेको छ । जनधनको क्षतिको विवरण आउनेक्रम जारी छ ।
मुख्यमन्त्री कार्यालयका अनुसार हालसम्म बझाङमा २३ जना पहिरोमा परी बेपत्ता भएका छन् । बैतडी र डोटी सीमामा ५० देखि ६० जना थुनिएका छन् । डोटीमा ३ जनाको मृत्यु भएको छ ।
सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले पहाडी जिल्लामा बिजुली आपूर्ति रोकिएकाले सबै ठाउँमा सम्पर्क हुन नसकेको बताउनुभयो । विद्युतसँगै टेलिफोन सेवा पनि अवरुद्ध भएकाले समस्या भएको उहाँको भनाइ छ ।
भट्टले प्रतिकूल मौसमका कारण उद्धारमा कठिनाइ भएको पनि बताउनुभयो । ‘तत्काल उद्धार र व्यवस्थापन गर्ने भनेर प्रदेशको सम्पूर्ण संयन्त्र लागेको छ । उद्धार कार्यमा कुनै पनि कमी नहुने गरी लागेको छ । मन्त्रीहरु नै लागेका छन् । संघीय गृहमन्त्रीसँग पनि कुरा भएको छ,’ उहाँले भन्नुभयो, ‘कञ्चनपुरमा मौसमका कारण हेलिकोप्टर ढिला भयो । ढिलै भए पनि फसेका ५ जनाको उद्धार गरियो । पहाडी जिल्ला बैतडी-डोटीको सीमामा ५०/६० मान्छे थुनिएका छन् । त्यहाँ पनि हेलिकोप्टर पठाइयो । तर दिपायल पनि पुग्न नसक्ने अवस्था भएकाले उद्धार गर्न सकिएको छैन ।’
उहाँका अनुसार प्रदेशका ठूला नदीहरुमा अहिलेसम्मै ठूलो बहाव देखिएको छ । महाकालीमा अहिलेसम्मकै उच्च बहाव देखिएको छ । कर्णालीमा पनि बहाव बढेको छ । डोटीमा पनि यति धेरै बहाव बढेको पहिलो पटक नै भएको उहाँको भनाइ छ ।