कन्चनपुर । आइतबार साँझदेखिको अबिरल बर्षाका कारण महाकाली नदीमा पानीको बहाब बढ्दा नदी तटीय क्षेत्रका बस्ती डुबानमा परेका छन् । महाकालीमा पानीको वहाव बढ्दा आसपासका सम्पूर्ण बस्ती डुवानमा परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता सिद्धराज न्यौपानेले बताउनुभयो । बाढी प्रभावित परिवारको तथ्यांक संकलन भईरहेको उनले जानकारी दिनुभयो ।
यसैगरी, महाकाली नदीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित भाईरल रोडसमेत कटान हुन थालेको छ । प्रबक्ता न्यौपानेका अनुसार रिङरोडको केही अंश कटान भएको छ ।
यसैगरी, महाकाली नदीमा पानीले खतराको सतह पार गरेपछि गड्डाचौकी नाकामा रहेको नेपाल र भारत जोड्ने बनवासा पुलमा आवागमन बन्द गरिएको छ । पुल पुरानो भएको र पानीको बहाव बढ्दा दुर्घटनाको जोखिम देखिएकोले आवागमन बन्द गरिएको प्रबक्ता न्यौपानेले बताउनुभयो । बाढीका कारण कञ्चनपुरमा अहिलेसम्म कुनै मानवीय क्षति भएको छैन ।