काठमाडौं । चितवन टाईगर्सले बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ काे उपाधि जितेकाे छ । कीर्तिपुरस्थित टीयू मैदानमा शनिवार भएकाे फाइनलमा पाेखरा राइनाेजलाई ४ विकेटले पराजित गर्दै चितवन पहिलाे पटक च्याम्पियन बनेकाे हाे ।
पाेखराले दिएकाे ११२ रनकाे लक्ष्य चितवनले १५.५ ओभर खेल्दै ६ विकेट गुमाएर पूरा गर्यो । चितवनका लागि भिम सार्कीले ४५ बल खेल्दै ७ चाैका र २ छक्काको मद्दतमा ६३ रन बनाउनुभयो ।
यस्तै दिलिप नाथले १८, राजेश पुलामीले १४ र माेहम्मद शाहाजादले ११ रन जाेड्नुभयो । कप्तान साेमपाल कामीले आफ्नाे पहिलाे बलमै चाैका प्रहार गर्दै चितवनलाई जित दिलाउनुभयो ।
बलिङमा पाेखराका किशाेर महताेले ४ विकेट लिनुभयो । नन्दन यादवले २ विकेट लिनुभयो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे पाेखराले १७.५ ओभरमा सबै विकेट गुमाएर १११ रनमा अलआउट भएकाे थियाे ।
पाेखराका लागि असेला गुनारत्नेले सर्वाधिक ३४ रन बनाउनुभयो । रिचर्ड लेभीले २६ र कप्तान विनाेद भण्डारीले २२ रन बनाउनुभयो । विपिन रावलले १७ रन जाेड्नुभयो । बाँकी खेलाडीले दाेहाेराे अंकमा रन बनाउन सकेनन् ।
चितवनका लागि बलिङमा कमल सिंह ऐरीले ३.५ ओभरमा २० रन खर्चिएर ४ विकेट लिनुभयो । यस्तै करिम जन्नत र सेकुगे प्रसन्नले २-२ विकेट लिनुभयो । दुवैले ३ ओभर बलिङ गर्दा प्रसन्नले १३ र करिमले १५ रन खर्चिनुभयो । कप्तान साेमपाल कामी र सागर ढकालले समान १ विकेट लिनुभयो ।