काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको चौथो संस्करणको उपाधिका लागि आज शनिबार चितवन टाइगर्स र पोखरा राइनोज प्रतिस्पर्धा गर्दैछन् ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा मध्याह्न सवा १२ बजे हुने फाइनल खेलले विजेता पाउने पक्का छ ।
शनिबार दुवै टोली ईपीएलमा पहिलो पटक उपाधि हात पार्ने दाउमा हुनेछन् । विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा र सोमपाल कामीको कप्तानीमा रहेको चितवन पहिलो पटक फाइनलमा पुगेका हुन् ।
यसअघि इपिएलको पहिलो संस्करणको पन्चकन्या तेजले (सन् २०१६), दोस्रो संस्करण सन् २०१७ विराटनगर वारियर्स र तेस्रो संस्करण सन् २०१८ ललितपुर प्याट्रियटर्सले जितेको थियो ।
यसअघि चितवन लिगमा ५ खेलमा जित र १ हार सहित शीर्ष स्थानमा रहँदै क्वालिफायर खेलेको थियो । पहिलो क्वालिफायर चितवनले पोखरालाई ९ विकेटले पराजित गरेको थियो । लिगमा पनि चितवनले पोखरालाई ९ विकेटले नै पराजित गरेको थियो ।
पोखरा ५ खेलमा ३ जित र १ मा हार र एक खेलमा अंक बाँडदै ७ अंकका साथ दोस्रो स्थानमा रहँदै क्वालिफायर खेलेको थियो । पोखराले भैरहवा ग्ल्याडियटर्सलाई क्वालिफायरमा ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।
यसअघि बिहीबार भएको प्रि म्याच फाइनल पत्रकार सम्मेलनमा दुबै टोलीका कप्तानले उपाधि आफ्नो टोलीले जित्ने दाबी गरेका थिए ।
ईपीएलको विजेताले ५० लाख र उप विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।