Margadarsan


  • भ्रष्टाचारको आरोप लगाउँदै प्रदेश-२ का मुख्यमन्त्रीविरुद्ध नाराबाजी

    मार्गदर्शन १८ आश्विन २०७८, सोमबार

    जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्रीविरुद्ध नाराबाजी गरिएको छ । सीके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि नाराबाजी गर्दै प्रदर्शन गरेको हो ।

    मुख्यमन्त्री कार्यालयले सञ्चालन गरेको बेटी बचाऊ, बेटी पढाऊ अभियानमा अनियमितता भएको भनी अख्तियारले कागजात नियन्त्रणमा लिएको केही दिनपछि सोमबार जनमत पार्टीले प्रदर्शन गरेको हो । नगरको विभिन्न ठाउँमा मोटरसाइकल जुलुस प्रदर्शन गरेका उनीहरुले मुख्यमन्त्री कार्यालयको गेट अगाडि नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।

    प्रदर्शनका क्रममा उनीहरुले भ्रष्टाचारी पार्टी मधेश छोड, भ्रष्टाचारी होशियार, भ्रष्टाचारीलाई कारबाही गर, भ्रष्ट सरकार राजीनामा दे, मधेशी जनता के भन्छ ? भ्रष्टाचारीलाई जेल दे भन्छ, भ्रष्टाचारी मुख्यमन्त्री राजीनामा दे’ जस्ता नारा लगाएका छन् ।

    प्रदेश सरकारले गरेको अनियमितताकै कारण अख्तियारले छापा मारेको भन्दै उनीहरुले छानबिन गरी कारबाहीको माग गरेका छन् ।

    यता जनमत पार्टीका कार्यकर्ताले जनकपुरधाम उपमहानगरपालिका र खानेपानी कार्यालयमा तालाबन्दी पनि गरेका छन् । बाटो बनाउने नाममा खाल्डो खनेर छोडिदिएका कारण नगरको विभिन्न ठाउँमा पैदल हिँड्न समस्या भए पनि उपमहानगरपालिकाले ध्यान नदिएको उनीहरुको भनाइ छ ।

    जनमत पार्टीका कार्यकर्ताले उपमहानगरपालिकाका मेयर लालकिशोर साह र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका छन् । ताला लगाउने क्रममा उनीहरुले न्यायिक समितिको कार्यकक्षमा तोडफोड गरेको उपमहानगरपालिकाका कर्मचारीले बताएका छन् ।

    फेसबुक प्रतिक्रिया