काठमाडौं । पूर्व फिफा रेफ्री लव खत्रीको निधन भएको छ । मेडिसिटी हस्पिटलमा उपचारको क्रममा सोमबार बिहान खत्रीको निधन भएको हो । सोमबार बिहान मर्निङ वाक गरेर नुहाउनका लागि वाथरुममा छिरेका खत्री लडेपछि उपचारका लागि मेडिसिटी हस्पिटल पुर्याइएको थियो ।
खेलाडीको रुपमा खत्रीले करिब एक दशक घरेलु फुटबलमा बिताउनुभएको थियो । उहाँले सन् २००८ मा फिफा रेफ्रीको ब्याच प्राप्त गर्नुभएको थियो । उहाँ करिब डेढ दशक रेफ्रीको भुमिकामा घरेलु तथा अन्तराष्ट्रिय फुटबलमा सहभागी हुनुभएको थियो । खत्रीको निधनपछि उहाँको पार्थिव शरिरलाई एन्फा कम्प्लेक्समा राखिएको थियो । एन्फा कम्प्लेक्समा एन्फा पदाधिकारीले एन्फाको झण्डा ओढाएका थिए । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले खत्री सवैभन्दा राम्रो रेफ्री भएको र एन्फाले सदैव सम्झने बताउनुभयो । त्यस्तै पूर्व फुटबल खेलाडी उपेन्द्रमान सिंहले खत्री अत्यन्त्रै मिलनसार व्यक्तित्व रहेको र नेपाली फुटबल जगतमा उहाको योगदान अविश्मरणीय रहेको बताउनुभयो ।
खत्रीले सन् २०१८ मा रेफ्रीबाट अवकासमा लिनुभएको थियो । त्यसपछि उहा रेफ्री प्रशिक्षकको भुमिकामा काम गर्दै आउनुभएको थियो । उहाका एक श्रीमती र एक छोरा हुनुहुन्छ ।