काठमाडौँ । काठमाडौँमा जारी एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज एकमात्र खेल हुने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे सुरु हुने खेलमा काठमाडौं किंग्स इलाभेन र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुने भएको छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौँले उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रियट्सलाई हराएको थियो भने पानी परेका कारण सोमबार विराटनगर वारियर्ससँगको प्रतिस्पर्धा स्थगित भएको थियो ।
त्यसैगरी विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा र भैरहवा ग्लाडिएटर्सबीचको खेल पनि वर्षाका कारण बीचमै रोकिएपछि अंक बाँडिएको थियो ।