काठमाडौँ । शनिबारदेखि राजधानीमा जारी चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आइतबार दुई खेलहरु हुँदै छन् । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दोस्रो दिन आज हुने पहिलो खेलमा विराटनगर वारिवर्स र चितवन टाइगर्सले प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो खेलमा भैरहवा ग्लाडियटर्सले पोखरा राइनोजसँग प्रतिस्पर्धा गर्नेछ ।
करण केसीको कप्तानीका रहेको विराटनगर र सोमपाल कामीको कप्तानीमा रहेको चितवनबीचको खेल बिहान ९ः३० बजेबाट सुरु भएको छ ।
दुवै टिम जित सहित प्रतियोगितामा सुखद् सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रने छ । यी दुईको मित्रताका बारेमा सबै नेपाली क्रिकेट प्रेमीहरु अवगत नै छ । मैदानभित्रको माहोलमा यो मित्रता कस्तो रुपमा देख्न पाईन्छ त्यो पनि हेर्न लायक नै हुनेछ । दुवै टिममा विदेशी खेलाडीलाई हेर्ने हो भने पनि प्रतिष्पर्धा निकै उत्कृष्ट हुने अनुमान गर्न सकिन्छ । चितवन टाइगर्समा अफगानिस्तानका मोहम्मद शाहजाद र करीम जनत, श्रीलंकाका सेक्कुगे प्रसन्ना र मलेसियाका भीरनदिप सिंह रहेका छन् ।
यता विराटनगरमा जिम्बाब्वेका सिकन्दर राजा, क्यानडाका रायन पठान, वेस्टइन्डिजका चन्द्रपाल हेमराज र श्रीलंकाका दिलशान मुनाविरा रहेका छन् । करणले घरेलु क्रिकेटमा दोस्रो पटक कप्तानी गर्न लागेका हुन् ।
आज हुने दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र पोखरा राइनोजको खेल दिउँसो १ः३० मा सुरु हुनेछ । पोखराको कप्तानी विनोद भण्डारीले गर्दैछन् भने शरद भेषावकरको कप्तानीमा भैरहवा मैदान उत्रदै छ ।
भैरहवालाई घाईते बाघको रुपमा हेरिएको छ । किनभने भैरहवा साविकको उपविजेता पनि हो । त्यसैले गत सिजन उपाधि जित्नबाट बञ्चित भएको भैरहवा अझ आक्रमक देखिन सक्छ । यद्यपी दुवै टोली जितको लक्ष्यसहिज मैदान उत्रने छन् । भैरहवामा विदेशी खेलाडीहरुमा बंगलादेशका तामिम इक्बाल, श्रीलंकाका उपुल थारांगा, धम्मिका प्रशाद र शर्भिन मुनिएन्डी रहेका छन् । यता, पोखरामा वेस्टइन्डिजका केसरिक् विलियम्स, श्रीलंकाका असेला गुनरत्ने, सहान अरचिगे र दक्षिण अफ्रिकाका रिचर्ड लेभी रहेका छन् ।