काठमाडौं । काठमाडौं किंग्स ११ ले चाैथाे संस्करणकाे एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा विजयी सुरुवात गरेकाे छ । बलर जितेन्द्र मुखिया, विकेटकिपर ब्याट्सम्यान रहमानुल्लाह गुर्बाज र अलराउण्डर रायल बर्लकाे उत्कृष्ट प्रदर्शनमा काठमाडौँले विजयी सुरुवात गरेको हो ।
शनिबार भएकाे उद्घाटन खेलमा काठमाडौंले ललितपुरलाई ७ विकेटले पराजित गरेकाे छ । ललितपुरले दिएकाे १५८ रनकाे लक्ष्य काठमाडौंले १४.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । काठमाडौंकाे जितमा जिम्बाब्बेका बर्लले अविजित रहँदै सर्वाधिक ७३ रन जोड्नुभयो । यस्तै अफगानिस्तानका गुर्बाजले ५९ रन बनाए । राजु रिजाल १९ रनमा अविजित रहनुभयो ।
१५६ रनकाे लक्ष्य पछ्याउने क्रममा काठमाडौंकाे सुरुवात राम्राे हुन सकेन । ओपनर सुवास खकुरेल पहिलाे ओभरमा खाता नखाेली रनआउट भए भने अमित श्रेष्ठ दाेस्राे ओभरमा ४ रन बनाएर रनआउट हुँदा काठमाडौंले १२ रनमै २ विकेट गुमाएकाे थियाे ।
तर अर्का ओपनर रहमानुल्लाह गुर्बाजले एक छेउबाट आक्रामक ब्याटिङ गर्दै काठमाडौंकाे इनिङ्स सम्हाल्नुभयो । उहाँलाई रायन बर्लले गतिलाे साथ दिनुभयो । यी दुईले तेस्राे विकेटका लागि ७६ रनकाे साझेदारी गरे । गुर्बाजले ३६ बल खेल्दै ४ चाैका र ४ छक्का मद्दतमा ५९ रन बनाउनुभयो ।
११ औं ओभरमा गुर्बाज आउट हुँदा काठमाडौंकाे स्काेर ८८ पुगेको थियो । त्यसपछि बर्लले आक्रामक ब्याटिङ गर्दै २७ बलमै अर्धशतक बनाउनुभयो ।
बर्लले राजु रिजालसँग चाैथाे विकेटका लागि अविजित ७२ रनकाे साझेदारी गर्दै काठमाडौंलाई जितसम्म पुर्याउनुभयो ।
बर्लले ३४ बल खेल्दै ३ चाैका र ७ छक्का मद्दतमा अविजित ७३ रन बनाउनुभयो । बर्लले १५ औं ओभरकाे दाेस्राे बलमा ललितपुरका कप्तान कुशल भुर्तेललाई चाैका प्रहार गर्दै काठमाडौंलाई जित दिलाउनुभयो । राजुले १३ बल खेल्दै २ चाैका मद्दतमा अविजित १९ रन बनाउनुभयो ।
ललितपुरका पवन सर्राफले १ विकेट लिनुभयो ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे ललितपुरले पवन सर्राफकाे अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएकाे हाे । ललितपुरका लागि पवन सर्राफले ६१ रन बनाउनुभयो ।
खेलकाे पहिलाे बलमै ललितपुरका कप्तान कुशल भुर्तेल आउट हुनुभएको थियो । त्यसै ओभरमा सन्दुन विराकाेडी २ रन बनाएर आउट हुनुभयो । दाेस्रो ओभरमा गुल्सन झाले ओसादा फर्नान्डाेलाई आउट गरेपछि ललितपुरले ७ रनमै ३ विकेट गुमायाे ।
त्यसपछि शंकर राना र पवन सर्राफले ललितपुरकाे इनिङ्स सम्हाल्नुभयो । यी दुईले तेस्रो विकेटका लागि ५६ रनकाे साझेदारी गरे । शंकर राना १४ रन बनाएर १० औं ओभरमा आउट हुनुभयो । त्यसपछि पवन र याेगेन्द्र सिंह कार्कीले पाँचाैं विकेटका लागि ६२ रनकाे साझेदारी गरे ।
दुवैलाई काठमाडौंका रायन बर्लले १७ औं ओभरमा आउट गर्नुभयो । पवनले ४४ बल खेल्दै ५ चाैका र ४ छक्का मद्दतमा ६१ रन बनाउनुभयो । याेगेन्द्रले २० बल खेल्दै ३ छक्का मद्दतमा ३३ रन जोड्नुभयो । पहिलाे पटक विदेशी लिग खेल्ने भुटानी खेलाडी रन्जुग मिक्याे दाेर्जीले अविजित १७ रन जोड्नुभयो ।
काठमाडौंका जितेन्द्र मुखियाले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिनुभयो । रायन बर्लले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिनुभयो । गुल्सन झाले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिनुभयो । कप्तान सन्दीप लामिछानेले ४ ओभरमा ४४ रन खर्चिए पनि विकेट लिन सक्नुभएन । यस्तै पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीले ४ ओभरमा ३२ रन खर्चिनुभयो भने विकेट लिन सक्नुभएन ।