काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँ/नगर अधिवेशन सुरु हुने भएको छ ।

पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार वडा अधिवेशन सम्पन्न भई अन्तिम मत परिणाम प्राप्त भएका अधिकांश जिल्लामा आजदेखि गाउँ/नगर अधिवेशन सुरु हुने भएको छ ।

नेपाली कांग्रेसको हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ ।

का‌ंग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको शुक्रबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले पालिका अधिवेशनलाई निर्धारित मितिमै गर्ने निर्णय गरेको पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले बताउनुभयो ।

प्रवक्ता शर्माका अनुसार २१ वटा हिमाली जिल्लामा दशैंअघि अधिवेशन गर्ने  र क्रियाशील सदस्यता विवाद नटुङ्गिएका जिल्लाको हकमा सहमति गरेर अघि बढ्ने निर्णय भएको छ । प्रवक्ता शर्माले अन्य विवादित विषयका सम्बन्धमा पनि केन्द्रीय कमिटीको बैठक बसेर आवश्यकताअनुसार निर्णय हुने जानकारी दिनुभयो ।

कांग्रेसको वडा अधिवेशन गत भदौ १८ गतेदेखि सुरु भएको थियो ।

पार्टीले यसअघि महाधिवेशनअन्तर्गत गाउँ/नगरपालिका अधिवेशन यही असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते गर्ने भएको थियो ।

यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० गतेदेखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ गतेदेखि १३ गतेसम्म गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ ।

कांग्रेसले उत्साहका साथ महाधिवेशनमा सहभागी हुन सम्पूर्ण नेता तथा कार्यकर्तालाई अपील गरेको छ ।