काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको १४औँ महाधिवेशन फेरि प्रभावित हुन सक्ने भएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै डा.प्रकाशरण महतले प्रदेशसभा निर्वाचनदेखि माथि प्रतिनिधिसभा क्षेत्र र जिल्ला अधिवेशन सक्दा प्रदेश महाधिवेशन तिहारपछि पुग्ने र त्यसको प्रभावले केन्द्रीय महाधिवेशनको कार्यतालिका पनि प्रभावित पर्न सक्ने बताउनुभयो ।
बैठकले चिसो बढ्ने भन्दै २१ वटा हिमाली जिल्लामा भने दसैँअघि नै जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । वडा अधिवेशन गर्न बाँकी रहेका १३ जिल्लाको पनि दशैंअघि नै सक्ने निर्णय गरेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै जिल्लाको पालिका अधिवेशन एकैपटक गर्ने प्रस्ताव गर्नुभएको थियो तर बाँकी १३ जिल्लाको पनि वडा अधिवेशन सकेरमात्र अरू महाधिवेशन अघि बढाउने पदाधिकारी बैठकले निर्णय गरेको हो ।