काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवा सरकारले विकास बजेट काटेर पार्टी कार्यकर्तालाई दसैं भत्ता वितरण गर्न लागेको आरोप लगाउनुभएको छ । काठमाडौंमा आयोजना गरेको एमाले विशेष प्रदेश कमिटीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो ।
अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले व्यापक राम्रा काम गरेको देखि नसकेर हटाएको बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘मेरो नेतृत्वको सरकारले एकैपटक तीन सयभन्दा बढी अस्पताल शिलान्यास ग-यो, ‘निरोगी नेपाल’ बनाउन लाग्यो, धरहरा उभ्याईयो, ठाउँठाउँमा विकास निमार्णका काम भयो, यसले धेरै विकास गर्ने भयो भनेर षडयन्त्र भयो ।’ सही नसक्नुभएको यहीँ हो, एमाले दुई वर्ष सरकारमा रहेको भए उहाँहरूको राजनीतिक सटर बन्द हुन्थ्यो । त्यसै कारण हटाउनुपर्यो । ओलीले आफ्नो कार्यकालमा बनेको प्रधानमन्त्री निवासमा प्रधानमन्त्री देउवा सर्न लागेकोमा आफुलाई खुसी लागेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री देउवा हामीले बनाएको घरमा सर्दै हुनुहुन्छ । मलाई खुसी लाग्छ उहाँले रिबन काट्नुहुनेछ, बत्ती बाल्नुहुनेछ । घर हामीले बनायौं उहाँले बत्ती बाल्ने र रिबन काट्नुहुनेछ,प्लग हामीले बनायौं स्वीच उहाँले थिच्नुहुनेछ ।’
उहाँले राम्रा काम गरिरहेका राजदूत फिर्ता गरेको भन्दै सरकारको आलोचना गर्नुभयो । उहाँले ११ राजदूत पहिल्यै नियुक्त हुन नदिएको र बाँकी राम्रो काम गरिरहेका राजदूतलाई पनि फिर्ता बोलाएर सही निर्णय नगरेको बताउनुभयो ।
एक अर्को प्रसंगमा अध्यक्ष ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरीलाई अघिल्लो सरकारले पदक दिएको भनेर गलत प्रचार गर्ने काम भइरहेको बताउनुभयो । पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीले उक्त पदक स्वर्गीय मदन भण्डारीलाई मरणोपरान्त गरिएको सम्मान भएको बताउनुभयो ।
‘उषा किरण भण्डारीलाई कुनै पदक दिइएको छैन, उनले त आफ्ना बुबालाई मृत्यु पछि प्राप्त भएको मरणोपरान्त सम्मान थापेकी मात्र हुन्, पदक थाप्न कोही न कोही परिवारको मान्छे त चाहियो, बाटोमा थपक्क राख्न त मिलेन ।’ओलीको भनाइ थियो । उषाकिरणले आफ्ना स्वर्गीय बाबुलाई प्राप्त भएको पदक थापेको फोटोलाई सार्वजनिक माध्यमबाट खुलमखुल्ला झुट गरेर प्रचार गरिएको उहाँले बताउनुभयो ।
देउवा सरकारले नेताका श्रीमती, आफन्त र नजिकका मान्छेलाई पदक बाँडेको आलोचना भएपछि त्यसलाई काउन्टर दिन राष्ट्रपतिले आफ्नी छोरीलाई पदक दिएको भनेर प्रचार गरिएको थियो । अध्यक्ष ओलीले आफ्नो कर्तुत छोप्न हुँदै नभएको कुरा प्रचार गर्न खोजिएकोमा आपत्ति प्रकट गर्नुभयो ।