काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवा सरकारले प्रहरीलाई कानून उल्लंघन गर्ने संयन्त्रका रुपमा प्रयोग गरेको बताउनुभएको छ । एमाले विशेष कमिटीले बिहीबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।
पार्टीसम्वद्ध कर्मचारी संगठनको कार्यालयमा ताला लगाएकोमा विरोध गर्दै उहाँले भन्नुभयो- ‘प्रहरीलाई कस्तो अप्ठ्यारो परेको छ हेर्नुस् त, अह्राएपछि नजाउँ पनि भएन । यो गर, त्यहाँ गएर ताला लगा भनेको छ, होइन भने दुर्गममा सरुवा गरिदिन्छ ।’
उहाँले सरकारमा बस्नेहरुको मनभित्र मुटु होइन ढुंगा रहेको दाबी गर्नुभयो । आफूतिर नलाग्ने शिक्षकलाई दुर्गममा सरुवा गर्न थालेको भन्दै उहाँले भन्नुभयो, ‘यिनीहरुको त मानवीय मन पनि छैन । यिनीहरुका छातीभित्र मुटु होइन ढुंगा रहेछ ढुंगा । त्यो पनि दर्शनढुंगा भन्छन् नि छिप्पिएको सेतो । त्यस्तो मुटु छ ।’
अध्यक्ष ओलीले पार्टी फुटाउने माधवकुमार नेपाल नेतृत्वको पार्टी र सरकारको चर्को आलोचना गर्नुभयो ।