काठमाडौँ । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक आज पनि बस्ने भएको छ। यसअघि बुधबार बसेको बैठक मन्त्रालय भागबण्डामा सहमति जुट्न नसक्दा विना निष्कर्ष टुंगिएको थियो ।
गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको बैठकले मन्त्रिपरिषद् विस्तारको विषय टुंगो लगाउने बताइए पनि दलहरुबीच मन्त्रालयमा सहमति जुटेको छैन । त्यसैले आज पनि मन्त्रिपरिषद् विस्तार हुने सम्भावना देखिँदैन ।
गत मंगलबार बेलुका बसेको गठबन्धनको बैठकले कांग्रेस नेता नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने निर्णय गरेको थियो । यस निर्णयको नेपाली कांग्रेसभित्र चर्को विरोध भएको थियो ।
सत्तारुढ गठबन्धनको एक घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार पार्टीको स्थायी समितिको बैठकमा बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार हुने र त्यस विषयमा आज साँझ बस्ने गठबन्धनको बैठकमा केही समझदारी बन्ने बताउनुभएको थियो ।
बुधबार दिउँसो बसेको सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठकमा पार्टीबाट को–को मन्त्री बनाउने भन्ने विषयमा कुनै निर्णय हुन सकेन ।
यस्तै, राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशका कारण पनि सत्ता साझेदार नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले सरकारमा पठाउने मन्त्रीबारे निर्णय गर्न सकेका छैनन् ।
जनता समाजवादी पार्टीले अध्यादेश निस्क्रिय बनाएपछि मात्रै पार्टीबाट पठाइने मन्त्रीबारे निर्णय गर्ने अडान राख्दै आएको छ भने एकीकृत समाजवादीले तत्कालै अध्यादेश निस्क्रिय बनाउन नहुने अडान राख्दै आएको छ ।
सर्वोच्च अदालतले गत असार २८ गते परमादेश जारी गरेपछि असार २९ गते कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुनुभएको २ महिना बितिसकेको छ ।
देउवा प्रधानमन्त्री भएको दुई महिना पुगेर यता आइसक्दा पनि मन्त्रिपरिषदले पूर्णता पाउन नसक्दा उहाँको चौतर्फी आलोचना भइरहेको छ ।