काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को महासचिवमा बेदुराम भुसाललाई चयन गरिएको छ । सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति जुटेको बताइएको छ ।
‘केन्द्रीय कमिटी बैठकमा सचिवालयले जुटाएको सहमति प्रस्ताव पेस हुन्छ, महासचिव घोषणा हुन्छ’, एक नेताले बताए । महासचिव बन्न भुसालसँगै मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, प्रकाश ज्वाला, विजय पौडेललगायतले दावी गरे पनि भुसालको नाममा सहमति जुटेको हो ।
अध्यक्ष माधवकुमार नेपालले बिहीबार सबै आकांक्षीसँग बसेर भुसालको नाम तय गर्नुभएको सहभागी एक नेताको भनाइ छ । नेकपा एसको उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल चयन हुनुभएको छ । त्यस्तै उपमहासचिवमा डा विजय पौडेल, डा.गंगालाल तुलाधर र प्रकाश ज्वाला चयन हुनुभएको छ । सचिवमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठको नाम टुंगो लागेको नेताहरुले बताएका छन् । मंगलबारदेखि शुरु भएको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज सकिने भएको छ ।