काठमाडौँ । भारतका विदेशमन्त्री एस जयशङ्करले नेपालको परराष्ट्रमन्त्रीमा डा.नारायण खड्का नियुक्त हुनुभएकोमा बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत भारतका विदेशमन्त्रीले खड्कालाई बधाई दिँदै उहाँसँग सहकार्य गर्न आफू प्रतीक्षारत रहेको बताउनुभएको छ ।

यसैबीच परराष्ट्रमन्त्री खड्का र भारतका विदेशमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता हुने सम्भावना प्रबल रहेको एक भारतीय कूटनीतिज्ञले न्युयोर्कबाट जनाउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने सिलसिलामा भारतका विदेशमन्त्री हाल न्यूयोर्कमा हुनुहुन्छ भने परराष्ट्रमन्त्री खड्का सोही सिलसिलामा आज अपराह्न त्यहाँ पुग्नुहुने भएको छ ।

परराष्ट्रमन्त्री खड्काले ‘आशाका माध्यमबाट लचिलोपन निर्माण गर्दै कोभिड–१९ बाट पुनःस्थापना, दिगो पुनर्निर्माण, पृथ्वीको आवश्यकता पूरा गर्न तथा जनताका अधिकारलाई सम्मान गर्दै संयुक्त राष्ट्रसंघलाई पुनःजागृत गराउने’ विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को वर्तमान अध्यक्ष नेपालले महासभाका सन्दर्भमा आयोजना गर्दै आएको सार्क मुलुकका परराष्ट्रमन्त्रीको अनौपचारिक बैठक यसपटक अफगानिस्तानको बदलिँदो राजनीतिक परिदृश्यलाई दृष्टिगत गरी स्थगन गरिएका बेला हुन लागेको नेपाल र भारतका विदेशमन्त्रीको भेटवार्तालाई महत्वपूर्ण रुपमा हेरिएको छ ।

गत भदौ २९ गतेदेखि जारी संयुक्त राष्ट्रसंघको महासभाअन्तर्गत मंगलबारदेखि उच्चस्तरीय बैठक शुरु भएको छ । सो बैठकमा सहभागी हुन मन्त्री खड्का चारसदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क जानुभएको छ ।