काठमाडौँ । संघीय संसदका दुवै सदनको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको छुट्टाछुट्टै बैठक दिउँसो दुई बजे बस्ने भएको हो ।
प्रतिनिधिसभा बैठकबाट आज बजेटसँग सम्बन्धित दुईवटा विधेयक पारित गर्ने तयारी गरिएको छ । संसद सचिवालयले सार्वजनिक गरेको आजको सम्भावित कार्यसूचीमा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गर्ने जनाइएको छ ।
यसअघि असोज ४ गते प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुख अग्नि सापकोटाले आफूले कारबाही गरेका १४ सांसदहरुलाई पदमुक्त गरिएको सूचना नटाँसेको भन्दै संसद् अवरोध गरेकै अवस्थामा विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित भएको थियो ।
आज राष्ट्रियसभामा पनि विनियोजन विधेयकमाथि छलफल गर्ने र पारित गर्ने कार्यसूची सार्वजनिक गरिएको छ ।
प्रतिनिधिसभाबाट पारित विधेयकहरु राष्ट्रिय सभामा पठाइन्छ । राष्ट्रियसभाले पारित गरेर पुनः प्रतिनिधिसभामा पठाउँछ । त्यसलाई स्वीकार गरेर प्रतिनिधिसभाले सभामुखमार्फत राष्ट्रपतिकहाँ पठाएपछि कार्यान्वयनमा आउँछ । त्यसपछि ३० भदौदेखिको ‘बजेट होलिडे’ अन्त्य हुनेछ ।
अघिल्लो सरकारले १५ जेठमा ल्याएको बजेट अध्यादेश साउन ३ गते संसदमा पेस भएको थियो । देउवा नेतृत्वको वर्तमान सरकारका अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक २५ भदौमा संसदमा गर्नुभएको थियो । भदौ २९ गते एमाले सांसदको नाराबाजीकै बीच प्रतिस्थापन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव जबर्जस्ती पास भएको थियो । त्यसलगत्तै संसदको अर्को बैठक असोज ४ गतेसम्मका लागि स्थगित गरिएको थियो ।