काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले आफ्नो पक्षले पाउने मन्त्रालयको किटान गर्न शेरबहादुर देउवासँग माग गरेको छ । बुधबार पौडेल पक्षका नेताहरुको महामन्त्री डा. शशांक कोइराला निवास महाराजगञ्जमा भएको बैठकले आफूहरुले पाउने मन्त्री संख्या किटान गर्न माग गरेको हो ।
नेपाली कांग्रेसभित्र छलफल नै नगरी मन्त्री चयन गरेकामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आपत्ति जनाएको छ ।
हाल मन्त्रिपरिषदमा नेपाली कांग्रेसबाट ४ जना रहेकामा सबै देउवा पक्षका भएकाले पौडेल पक्षले असन्तुष्टि जनाउँदै तत्काल आफ्नो पक्षले पाउने मन्त्रालय तोक्न सभापति देउवासँग जोडदार माग गरेको छ । पौडेल पक्षका नेता बलबहादुर केसीले चारजना मन्त्री नियुक्त हुँदासम्म देउवाले पार्टीमा छलफल नगरेको र बाँकी मन्त्रीको संख्याका बारेमा देउवासँग कुरा गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
‘कांग्रेसले पाउने मन्त्रीको संख्या कति हो ? अनि त्यसमध्ये हाम्रो भागमा कति मन्त्री पर्ने हो ?’ उहाँले भन्नुभयो, ‘यसबारेमा हाम्रो समूहबाट पार्टी नेतृत्वको ध्यानाकर्षण गराउने कुरा भएको छ ।’
बुधबार दिउँसो सभापति देउवाले पदाधिकारी बैठक बोलाउनुअघि पौडेल पक्ष छुट्टै छलफलमा बसेको थियो । छलफलमा पदाधिकारी बैठकमा मन्त्रिपरिषद विस्तारको विषय उठाउने निर्णय भएको उहाँले बताउनुभयो ।
मंगलबारको सत्तारुढ गठबन्धनको निर्णय अनुसार बुधबार देउवाले परराष्ट्र मन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्नुभएको थियो । यसबाट पौडेल पक्ष चिढिएको छ ।
पौडेल पक्षका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले मन्त्री पठाउने विषयमा पार्टीमा छलफल गर्ने परम्परा देउवाले तोडेको बताउनुभयो । ‘मन्त्री कसलाई पठाउने भन्नेबारे पार्टीभित्र छलफल गरेर क्षेत्रीयता, जातीयता, लैंगिकतालाई हेरेर निर्णय गर्ने परम्परा हो,’ उहाँले भन्नुभयो, ‘गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा पनि एउटा मापदण्ड बनाएर पार्टीभित्र छलफल गरेर मन्त्री छान्ने प्रचलन थियो । अहिले त्यो भएन । प्रधानमन्त्री एक्लै अगाडि बढ्न खोज्नुभयो ।’
गठबन्धन सरकारमा कांग्रेसले अधिकतम सात मन्त्री पाउने सम्भावना छ । चार मन्त्री नियुक्त हुँदासमेत पार्टीमा छलफल नभएकामा पौडेल पक्षको तीव्र असन्तुष्टि छ ।
‘मन्त्रिमण्डल विस्तारमा छलफल नै नगरी जथाभावी नियुक्ति भइरहेको छ । चार जना नियुक्ति गर्दा पनि छलफल भएन,’ कांग्रेस नेता तेजुलाल चौधरीले भन्नुभयो, अब कांग्रेसको भागमा पर्ने भनेको बढीमा तीनवटा हो, तर मन्त्री कसलाई बनाउने भन्नेमा छलफल भएन ।’
२९ असारमा प्रधानमन्त्री देउवासँगै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र गृहमन्त्री बालकृष्ण खाँण नियुक्त भएका थिए भने त्यसको एक सातापछि स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका थिए ।