काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटार प्रकरणको मुख्य दोषी माधवकुमार नेपाल भएको तर आफूलाई फसाइएको दाबी गर्नुभएको छ । उहाँले बालुवाटारको ललिता निवासस्थित सरकारी जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशन मानेको दाबी गर्नुभयो ।
उहाँले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशनअनुसार विभिन्न तहबाट आएको प्रस्तावलाई मन्त्रिपरिषद्मा लैजानेसम्म काम आफूले गरेको जिकिर गर्नुभयो ।
गच्छदारले मन्त्रिपरिषद्ले गरेको सामूहिक निर्णयमा राजनीतिक पूर्वाग्रहले आफूलाई मात्र फसाउन खोजेको बताउनुभयो । उहाँले राजनीतिक पूर्वाग्रहकै कारण केही व्यक्तिलाई उन्मुक्ति दिइएको आरोप लगाउनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग संवैधानिक निकाय भए पनि सरकारको छायाँको रुपमा काम गर्दा निष्पक्ष र स्वतन्त्र हुन नसकेको नेता गच्छदारले बताउनुभयो ।
गच्छदारले अख्तियारले छानीछानी मुद्दा चलाउने काम गरेको पनि आरोप लगाउनुभयो । ‘उन्मुक्ति दिन नपर्नेलाई उन्मुक्ति दिएको छ, राजनीतिक पूर्वाग्रहबाट चरित्रहत्या गर्ने षड्यन्त्र भएको छ’ उहाँले भन्नुभयो ।
बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्नेसम्बन्धी प्रस्ताव तत्कालीन भौतिक पूर्वाधारमन्त्री गच्छदारले मन्त्रिपरिषदमा लगेको अख्तियारको दावी छ ।
अख्तियारले यसै विषयमा गच्छदारसमेत १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सो मुद्दामा वयान दिन गत असार ३० गते हाजिर भएका उहाँलाई विशेष अदालतले १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
ललिता निवास प्रकरणमा जोडेर आफ्नो ५० वर्ष लामो राजनीतिक र समाजिक जीवन ध्वस्त गर्ने उद्देश्य राखिएको गच्छदारले बताउनुभयो । उहाँले आफूले बालुवाटारमा प्रधानमन्त्री र विशिष्ठ व्यक्तिहरुको निवास विस्तार गर्ने गुरुयोजना विभागीय मन्त्रीको हैसियतले मन्त्रिपरिषदसम्म मात्र पुर्याएको दावी गर्नुभयो । गच्छदारले आफूले गरेको काम भ्रष्टाचारजन्य नभएको पनि जिकिर गर्नुभयो ।