काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसमा मन्त्री नियुक्तिको विषयमा तीव्र असन्तुष्टि पैदा भएको छ । शेरबहादुर देउवाले पार्टीभित्र छलफल नै नगरी मन्त्री नियुक्त गरेको भन्दै रामचन्द्र पौडेल पक्षले असन्तुष्टि जनाएको हो । वरिष्ठ नेता पौडेलले पार्टीमा छलफलपछि मात्रै सरकारमा सहभागी हुने मन्त्रीको नाम तय गर्नुपर्ने भन्दै शेरबहादुर देउवाको शैलीप्रति आक्रोश व्यक्त गर्नुभएको छ ।
नेता पौडेलले मन्त्री नियुक्तिमा प्रधानमन्त्री देउवाले एकलौटी गर्न खोजेको भन्दै आफूपक्षीय नेताहरुको बैठक नै बोलाएर हिसाबकिताब गर्ने हुनुभएको छ । सो बैठक महामन्त्री डा. शशांक कोइराला निवास महाराजगञ्जमा बुधबार दिउँसो बस्ने भएको छ ।
प्रधानमन्त्री देउवाले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्नुभएको छ । मंगलबार सत्तारुढ दलहरुको बैठकले परराष्ट्रमन्त्रीमा कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. खड्कालाई नियुक्त गर्ने निर्णय गरेको थियो । तर कांग्रेस वरिष्ठ नेता पौडेलले भने मन्त्री नियुक्तिका विषयमा पार्टीभित्र छलफल हुनुपर्ने माग राख्नुभएको थियो ।
कांग्रेसबाट परराष्ट्रमन्त्री खड्कासहित चारजना मन्त्री नियुक्त भएका छन् । २९ असारमा प्रधानमन्त्री देउवासँगै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र गृहमन्त्री बालकृष्ण खाँण नियुक्त भएका थिए भने त्यसको एक सातापछि स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त हुनुभएको थियो ।
२५ सदस्यीय मन्त्रिमण्डलमा अझै १६ मन्त्रालय प्रधानमन्त्री मातहत छन् । प्रधानमन्त्री नियुक्त भएको ७० दिन पुग्दा पनि मन्त्रिमण्डलले पूर्णता नपाएको भन्दै देउवाको देशभर आलोचना भइरहेको छ ।