काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवा सरकारले जानीबुझी जनतामा राजनीतिप्रति निराशाभाव पैदा गर्न खोजेको बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले यस्तो धारणा राख्नुभएको हो ।
दिउँसो पनि ग्रहण लाग्यो भने नहेर भन्ने गरेको स्मरण गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिले ग्रहण लागेको छ, यो ग्रहणतिर धेरै हेर्ने काम छैन ।’
देउवा सरकारले १४०० रणनीतिक सडकको समेत काम रोकेको भन्दै उहाँले भन्नुभयो, ‘क्या बहादुर सरकार ! अघिल्लो सरकारले रणनीतिक सडक बनाउँछु भन्यो । यो सरकारले आउनेवित्तिकै रोक्यो । ल बना बाटा ! केपी ओलीको फुर्ती एक्कै झट्कामा खत्तम पारिदिन्छु भनेर १४०० बाटो खत्तम ।’
देउवा सरकारले आफूतिर नलाग्ने कर्मचारीलाई अपायकमा सार्न थालेको उहाँको आरोप छ ।
एक अर्को प्रसंगमा अध्यक्ष ओलीले लोकतन्त्रका लागि नेपाली कांग्रेसका नेताको भन्दा कम त्याग आफूहरुको नभएको बताउनुभयो । मदन भण्डारीको जीवन पुस्तक श्वेतशार्दुल विमोचन कार्यक्रममा उहाँले आफूहरु रैथाने लोकतन्त्रवादी भएको जिकिर गर्नुभयो ।
उहाँभन्दा अगाडि बोलेका पूर्वसभामुख दमननाथ ढुंगानाले कम्युनिस्टहरुले पावर केन्द्रित गर्छन् भनेका थिए । त्यसमा असहमति जनाउँदै उहाँले भन्नुभयो, ‘अरुले ल्याइदिएको डेमोक्रेसीमा हामी सहभागी भएका होइनौं, हामीले रगत पसिना बगाएर ल्याएको हो ।’
उहाँले अघि भन्नुभयो, ‘हामी अतिथि लोकतन्त्रवादी होइनौं, रैथाने लोकतन्त्रवादी हौं । लोकतन्त्रका लागि नेपाली कांग्रेसका कुनै नेताले भन्दा कम सेक्रिफाइज गरेका छैनौं ।’
बरु नेपालको लोकतन्त्र यस्तो हुनुपर्छ भनेर एमालेले अघि सारेको खाका अरु पार्टीसँग नभएको उहाँको भनाइ छ ।
सो कार्यक्रममा उहाँले देउवा सरकारले मनपरी बाँडेको पदकबारे बुद्धिजीवी एक शब्द नबोलेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘म प्रधानमन्त्री भएको बेला यसो भएको भए अहो ! के हुन्थ्यो ? बुद्धिजीविहरु के भन्थे ? नागरिक समाज के भन्थ्यो ?’ उहाँले भन्नुभयो, ‘आज सब चुप छन्, शान्त छन् ।’