काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मंगलबार बसेको राष्ट्रियसभा बैठकमा पनि अवरोध गरेको छ । दिउँसो १ बजे बसेको बैठकमा एमाले सांसदको अवरोधबीच राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले प्रतिनिधिसभाबाट सन्देशसहित आएको विनियोजन विधेयकसम्बन्धी प्रस्ताव टेबुल गर्न अनुमति दिनुभयो ।
त्यसअघि बैठकको सुरुमै बोल्दै एमाले सांसद देवेन्द्र दाहालले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले अघिल्लो सरकार ढाल्नुको कारण पुष्टि गर्न नसकेको बताउनुभयो ।
उहाँले दल विभाजनसम्बन्धी अध्यादेश पार्टीहरू र यो व्यवस्था कमजोर बनाउन ल्याइएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो- ‘अध्यादेश पार्टीहरू र व्यवस्थालाई कमजोर बनाउन ल्याइएको हो । यो सरकार जनउत्तरदायी छैन । परमादेशबाट बनेको सरकार जनताप्रति उत्तरदायी छैन ।’ उहाँले भन्नुभयो, ‘अहिले संसदमा पनि गुरिल्ला अभ्यास भइरहेको छ । अगाडिबाट आदेश आएपछि तलबाट गुरिल्ला शैलीमा कुदेर बजेट पेस गर्न पुगेको छ ।’ उहाँले जबरजस्ती विनियोजन विधेयक पेश गरिएको आरोप पनि लगाउनुभयो । विपक्षीहरुसँग संवादका लागि ध्यान नै दिएको छैन । यो सरकारले जनताको विपक्षमा काम गरिरहेको उहाँले आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो- ‘यो सरकारले अघिल्लो सरकार ढाल्नुको औचित्य पुष्टि गर्न सकेको छैन । यो सरकार संविधान ध्वस्त बनाउन लागेको छ ।’ उहाँले थप्नुभयो, ‘यो सरकार चिर निद्रामा परेको छ । खासमा यो सरकार नै होइन स्वार्थीहरुको झुण्डमात्रै हो ।’
उहाँले भन्नुभयो- ‘जनतासँग प्रत्यक्ष जोडिएका सडक कटौती गरिएको छ । त्यस क्षेत्रका जनता यो सरकारका होइनन् यो सरकारले समृद्धि होइन, गरिबी दिइरहेको छ ।’
उहाँले भन्नुभयो- ‘सभामुखले एमालेका १४ सांसदमाथिको कारबाहीबारेको सूचना नटाँसेसम्म यो सदनमा अवरोध जारी रहन्छ ।’
सरकारको लापरबाहीकै कारण अहिले देश बजेट शून्यता रहेको पनि उहाँले बताउनुभयो । यो सरकारले पाँच लाख गरिबलाई पैसा बाँड्ने भनेको छ । बरु सातवटा प्रदेशका सदरमुकाम विभाजन गरेर सडकमा पैसा फ्याकिदिऊँ, उहाँले भन्नुभयो- ‘यो सरकारले गरिबको भलो गर्ने होइन, समृद्धि ल्याउने होइन, देशलाई अझै तन्नम बनाउँछ।’
उहाँले यो सरकारले अध्यादेश ल्याउनुको औचित्य पनि पुष्टि गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो- अध्यादेशले पार्टी विभाजन गर्यो, अब फिर्ता लैजाने रे, संसदले अध्यादेशमाथि छलफल गर्न पाउनुपर्छ ।