काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खलाका लागि ओमान गएको नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ ।
कप्तान ज्ञानेद्र मल्लसहित १७ खेलाडी, म्यानेजर, फिजियो र टेक्निकल एनालिस्टसहित २० जनाको टोली नेपाल फर्किएको हो ।
राष्ट्रिय क्रिकेट टोली बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको हो । नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ क्यानका पदाधिकारीले विमानस्थलमा स्वागत गरेका छन् । ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको श्रृंखलाका चार खेलमध्ये नेपालले दुईमा जित र दुईमा हार बेहोरेको थियो ।
नेपालले चौथो खेलमा ओमानलाई सात विकेटले र पहिलो खेलमा अमेरिकालाई पाँच विकेटले हराएको थियो । त्यस्तै दोस्रो खेलमा नेपाल ओमानसँग पाँच विकेटले र तेस्रो खेलमा अमेरिकासँग ६ विकेटले पराजित भएको थियो ।
नेपाल लिग–२ को चौथो स्थानमा छ । नेपालले ८ खेलमा ८ अङ्क जोडेको छ । त्रिदेशीय श्रृङ्खला अघि नेपालले पपुवा न्युगिनीसँग दुई खेलको एक दिवसीय श्रृङ्खला खेलेको थियो । नेपालले श्रृङ्खला २–० ले जितेको थियो ।
नेपाली टोलीसँगै गएका मुख्य प्रशिक्षक डेभ वाटमोरले राजीनामा दिएका कारण फर्किनुभएन ।
ओमान भ्रमणमा नेपाले लिग २ को सिरिजमा चार र त्यसअघि पपुवा न्यु गिनीविरुद्ध दुई गरी कुल ६ खेल खेलेको थियो । जसमा नेपालले चार खेल जित्दा दुई खेलमा पराजित भयो ।
पहिलो पटक पपुवा न्यु गिनीविरुद्ध ओडिआई सिरिज खेलेको नेपालले दुवै खेल जितेको थियो ।
त्यसपछि नेपालले लिग दुईमा अमेरिका र ओमानविरुद्ध एक/एक खेल जित्यो । दुवै टिमसँग नेपालले एक/एक खेलमा भने हार बेहोर्यो ।
नेपालले अब विश्वकप लिग २ मा अर्को सिरिज २०२२ फेब्रुअरीमा खेल्ने तालिका छ ।
अब नेपाली क्रिकेटरहरु यही सेप्टेम्बर २५ तारिख (असोज ९) देखि सुरु हुने चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा व्यस्त हुनेछन् । टीयू अन्तर्राष्ट्रिय मैदानमा हुने ईपीएलमा ६ फ्रेन्चाइजले प्रतिस्पर्धा गर्नेछन् ।