काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जारी स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पेश गरिएको छ । अध्यक्ष ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा अफगान भूमिबाट पलायन हुनु अमेरिकाको पराजय भएको उल्लेख गरिएको छ ।
स्थायी कमिटीको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा अन्तर्राष्ट्रिय परिस्थिति, भूराजनीति र एमालेको विदेश नीतिबारे उल्लेख गरिएको छ ।
अमेरिका र नेटो सैन्य गठबन्धन सैनिकको बहिर्गमनपछि अफगानिस्तानमा तालिबानी विद्रोहीहरुले नियन्त्रण कायम गरेको भन्दै एमालेले भनेको छ, ‘२५ खर्ब डलरभन्दा बढी खर्च गरेर पनि ठूलो क्षति व्यहोरेर अफगानी भूमिबाट अमेरिका पलायन हुनु भियतनाम युद्धको ५० वर्षपछि अमेरिकाले व्यहोरेको ठूलो असफलता र पराजय हो ।’
यसले जुनसुकै बहानामा गरिए पनि सैन्य आक्रमण गलत भएको प्रष्ट भएको एमालेको राजनीतिक प्रतिवेदनमा उल्लेख छ । ‘कुनै पनि मुलुकको समस्या समाधानको जिम्मा सम्वन्धित मुलुककै जनताको हो, वाह्य शक्तिको होइन’ एमालेले भनेको छ ।
आतंकवादले विश्वव्यापी चुनौती खडा गरेको, तर यसको विकल्प वाह्य हस्तक्षेप, आक्रमण वा कुनै देशको कब्जा हुन नसक्ने पनि एमालेले बताएको छ ।
तालिबानले नियन्त्रण लिएसँगै अफगानिस्तानको भविष्यलाई लिएर गम्भीर चिन्ता र आशंका पैदा भएको एमालेले बताएको छ । अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘तालिबानले इतिहासबाट पाठ सिकेर आफूहरुलाई विश्व परिस्थिति अनुकुल बनाउँछ कि आतिवादी, रुढीवादी र अमानवीय शासन व्यवस्थालाई निरन्तरता दिन्छ ? यसैगरी आंकवादको संरक्षक बन्छ कि भूराजनीतिक संवेदनशीलताप्रति सजग बन्दै अगाडि बढ्छ, यकिन छैन ।’