काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको आजको बैठकमा पनि अवरोध गरेको छ । सभामुख अग्नि सापकोटाको कामकारवाहीका विषयमा सदनमै प्रश्न उठाउँदै आएको नेकपा एमालेले आज पनि प्रतिनिधिसभाको बैठकमा अवरोध जारी राखेको हो ।
बैठकको काम कारवाही सुरु भएसँगै नेकपा एमालेका सांसदहरुले वेल घेरेर नाराबाजी गरिरहेका छन् । तर, एमालेको नाराबाजीको कुनै वास्ता नगरी सभामुख अग्नि सापकोटाले सदनको कारवाही अघि बढाउनुभयो ।
एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाले विनियोजन विधेयक बहुमतले पारित गरेको हो ।
विधेयकको मन्त्रालयत शीर्षकमाथिको छलफल सकाएर अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिएपछि सभामुखले खर्च कटौती सम्बन्धी नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राखेको प्रस्ताव निर्णयार्थ पेश गर्नुभयो ।
सांसद सुवालको खर्च कटौतीको प्रस्ताव अस्वीकार भएपछि विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री शर्माले पेश गर्नुभयो । एमालेको नाराबाजीका बीच विधेयक बहुमतले पारित भएको हो ।
प्रतिनिधिसभाबाट पारित विधेयक अब राष्ट्रिय सभामा जान्छ । राष्ट्रियसभाले पारित गरेर पुनः प्रतिनिधिसभामा पठाउँछ । त्यसलाई स्वीकार गरेर प्रतिनिधिसभाले सभामुखमार्फत राष्ट्रपतिकहाँ पठाउँछ र कार्यान्वयनमा आउँछ । त्यसपछि हालको बजेट होलिडेको अन्त्य हुनेछ ।
विनियोजन विधेयकमाथिको छलफलको सबै प्रक्रियामा नेमकिपाका सांसद प्रेम सुवाल एक्लै सहभागी हुनुभयो । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरु नारावाजीमा केन्द्रित भए । सत्तारुढ गठबन्धनका कुनै पनि सांसदले छलफलमा भाग लिएनन् ।
सुवाल एक्लैले खर्च कटौतीको प्रस्ताव राख्नुभयो । मन्त्रालयगत छलफलमा पनि सुवाल एक्लैले भाग लिनुभयो । सुवालले सोधेका प्रश्नहरुको जवाफ अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिनुभयो । अर्थमन्त्रीलाई पुरक प्रश्न सोध्ने पनि सुवाल नै रहनुभयो ।
सांसद सुवालले कृषिमा खर्च बढाउनुपर्ने, प्रत्येक युवालाई सैन्य तालिम दिएर देशको रक्षामा लगाउनुपर्ने, एमसीसी जस्ता परियोजनालाई अगाडि बढाउन नहुने धारणाा राख्नुभयो ।