काठमाडौं । आइतबारदेखि सुरु भएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठकमा विधान संशोधनबारे छलफल सुरु भएको छ । आसन्न महाधिवेशनमा पेश गरिने विधान संशोधन प्रस्ताव, राजनीतिक र साङ्गठनिक प्रतिवेदनबारे बैठकमा छलफल आरम्भ भएको हो ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा सुरु भएको स्थायी कमिटी बैठकमा ती प्रतिवेदन पेश भई छलफल सुरु भएको र आज दिउँसो १ बजेको बैठकमा पनि छलफल जारी रहने एमालेका केन्द्रीय प्रचार विभागका प्रमुख योगेश भट्टराईले बताउनुभयो ।

आइतबारको छलफलमा नेताहरू युवराज ज्ञवाली, घनश्याम भुसाल, अमृतकुमार बोहरा, केशव बडाल, डा पुष्प कँडेलले भाग लिनुभएको थियो । एमालेले यही असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा विधान महाधिवेशन गर्ने भएको छ ।

एमाले केन्द्रीय कमिटीको गत साउन २५ मा सम्पन्न केन्द्रीय कमिटीको बैठकको निर्णयका आधारमा तयार विधानको मस्यौदा प्रस्ताव मातहतका कमिटीमा सुझावका लागि पठाइएको थियो । विधानमा पार्टीको प्रमुख पदमा उमेर हद, कमिटीमा निर्वाचन प्रणाली, सङ्घीयता अनुकूलका व्यवस्थामा छलफल भइरहेको बताइएको छ ।

प्रतिवेदनमा स्थायी कमिटीका प्राप्त सुझावका आधारमा यही असोज ८ र ९ गते बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गरिने बतइएको छ । एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने कार्यतालिका रहेको छ ।

एमालेले विसं २०७५  जेठ २ गतेसम्मको सदस्यतालाई आधार मानेर एकीकरणका क्रममा आबद्ध भएका सदस्यसमेतको पार्टी सदस्यता नवीकरण अगाडि बढाइने र विसं २०७५ जेठ ३ पछि दिइएका नयाँ सदस्यको पनि नवीकरण असोज मसान्तसम्म गर्ने निर्णय गरेको छ  ।