काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवस २०७८ को उपलक्ष्यमा सम्पूर्ण नेपालीहरुमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ । उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर रहन सबै नेपालीहरुलाई आग्रह गर्नुभयो ।
अध्यक्ष ओलीले सातौँ संविधान दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले संविधानको रक्षा गर्दै यसले निर्दिष्ट गरेको दिशामा अग्रसर हुन आह्वान गर्नुभएको छ ।
नेपालको संविधानले सार्वभौमसत्ता सम्पन्न तुल्याएका जनता नै जनार्दन भएकाले एमालेको निष्ठाको सार नै जनतालाई जनार्दन बनाउने सङ्कल्प रहेको अध्यक्ष ओलीले सन्देशमा उल्लेख गर्नुभएको छ । उहाँले संविधान मुलुकको राजनीतिक प्रणाली व्यवस्थित गर्ने दस्तावेज मात्र नभई लोकतन्त्रप्रति निष्ठा र विश्वासलाई संविधानले आत्मसात गरेको प्रष्ट गर्नुभएको छ ।
उहाँले सन्देशमा भन्नुभएको छ- “राष्ट्रलाई एकताको सूत्रमा बाँधेर जनतामा अन्तर्निहित सार्वभौमसत्ता, कानुनको शासन, सामाजिक न्याय र जनताका आधारभूत हक अधिकारको सुनिश्चित गर्ने वर्तमान संविधान सामन्तवादको अन्त्य गर्ने प्रगतिशील राजनीतिक दस्तावेजका रूपमा रहेको छ।
उहाँले मुलुकमा पृथकतावादको अभियान र राजनीतिक शक्ति प्राप्त गर्न हिंसाको नीति अवलम्बन गरेका शक्तिलाई पनि आफूहरूले संवैधानिक प्रावधान अनुरूपको अभ्यासमा सहभागी गराउने सफलता प्राप्त गरेकोमा खुसी व्यक्त गर्नुभएको छ ।
अध्यक्ष ओलीले संविधान जारी भएपछिको आमनिर्वाचनबाट सरकारको नेतृत्व गर्ने जनादेश एमालेलाई प्राप्त गरेको उल्लेख गर्दै त्यतिबेला सङ्घीयतालाई व्यवहारमा कार्यान्वयन र जनताका मौलिक हकसम्बन्धी कानुन निर्माण गरेको उल्लेख गर्नुभयो ।
उहाँको सन्देशमा उल्लेख गरिएको छ- “पार्टीका नीति र कार्यक्रममा आधारित, घोषणापत्रमा उल्लेखित र निर्वाचनमा जनतासामु गरिएका प्रतिवद्धता पूरा गर्न हाम्रो परिकल्पनालाई ‘समृद्ध नेपाल, सुखी नेपाली’को रूपमा शुत्रबद्ध गरी त्यसलाई परिपूर्ण लोकतन्त्रका रूपमा व्याख्या गर्यौँ।”
“सबैलाई समान अधिकार, अवसरमा समान पहुँच, समानताको प्रत्याभूति, सामाजिक न्याय र सुरक्षा एवं सम्मानको ग्यारेन्टीसहित परिपूर्ण लोकतन्त्र परिकल्पना र कार्यक्रमको सार हो,” अध्यक्ष ओलीले सन्देशमा उल्लेख गर्नुभएको छ ।