काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आफूले संसदलाई प्रभावकारी ढंगले चलाउन नसकेको स्वीकार गर्नुभएको छ । उहाँले आफूले संसद् चलाउन नसकेकोमा आफैँप्रति सन्तुष्ट नभएको विचार व्यक्त गर्नुभयो ।
शनिबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले गरेको कार्यक्रममा उहाँले संसदको कार्यसम्पादनबाट आफू सन्तुष्ट हुन नसकेको बताउनुभएको छ ।
सो कार्यक्रममा उहाँले संसदको कार्यसम्पादनमा सुधार गर्नुपर्ने धेरै ठाउँ रहेको धारणा राख्नुभएको छ । ‘संसदको प्रभावकारिताको कुरा गर्ने हो भने म आफैं पनि पूर्ण सन्तुष्ट छैन’ उहाँले भन्नुभयो, ‘कार्यसम्पादनमा कति चुस्त कति वैज्ञानिक सुधार गर्नुपर्नेछ । इमानका साथ म यसमा केन्द्रित हुन्छु ।’
आफू सभामुख भएको दुई वर्षको अवधिमा दलहरुमा आन्तरिक लोकतन्त्र कमजोर भएको बताउनुभयो । ‘मैले सभामुखको जिम्मेवारी सम्हालेको करिब २ वर्ष हुन लाग्यो । मलाई गहिरो गरी अनुभूत भएको छ, सबैमा जिम्मेवारी वोध, कर्तव्य वोधको कमीका साथसाथै आन्तरिक लोकतन्त्र कमजोर भएको छ । दलहरुमा पनि’ उहाँले भन्नुभयो । उहाँले आफ्ना कमीकमजोरी सबैले आत्मसात गर्दै जिम्मेवारी बोध गर्नुपर्ने बताउनुभयो ।
सापकोटाले लोकतन्त्र भनेको अरुलाई उपदेश दिने विषय नभई आफैंले आत्मसात गर्ने र व्यवहारमा प्रयोग गर्ने विषय भएको बताउनुभयो ।
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले संविधान कार्यान्वयनका लागि जनताले अनुभूत गर्ने गरी काम गर्नुपर्ने धारणा राख्नुभयो । ‘त्यसमा हामी सांसदहरु बढी जिम्मेवार छौं । इतिहासको कठघरामा आनन्दित हुन अहिलेको काम गराइले सकिँदैन ।’ उहाँले कानुन नबन्दा कतिपय मौलिक हक कार्यान्वयन हुन नसकेको धारणा राख्नुभयो ।