काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसको १४ औँ महाधिवेशनमा आफू सभापतिको उम्मेद्वारबाट पछि नहट्ने बताउनुभएको छ ।
नेता सिंहले आफूहरुको समूहबाट साझा उम्मेदवारको सम्भावना अझै नसकिएको भन्दै त्यसका लागि निरन्तर छलफल भइरहेको बताउनुभयो । तर, आफू सभापतिको उम्मेदवारबाट पछि नहट्ने उहाँको भनाइ थियो ।
शनिबार गणेशमान सिंहका २५ औं स्मृति दिवसको अवसरमा गणेशमान सिंह फाउन्डेसनले शोभाभगवतिमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले आफू सभापतिको उम्मेद्वार बनेरै छोड्ने जिकिर गर्नुभयो ।
‘पार्टीभित्र विवाद र अलोकतान्त्रिक गतिविधि बढिरहेको छ,’ उहाँले भन्नुभयो, ‘महाधिवेशन निष्पक्ष रुपमा गर्नु पर्छ । विवाद भएका जिल्लामा विधिविधानअनुसार समाधान गर्न सभापतिलगायत सम्पूर्ण नेताहरु लाग्नु पर्छ ।’
नेता सिंहले पार्टीको १४ औं महाधिबेशनबाट सक्षम नेतृत्व आउने विश्वास व्यक्त गर्नुभयो । उहाँले पार्टीभित्र विवाद र अलोकतान्त्रिक गतिविधि बढीरहेको भन्दै विवाद भएका जिल्लामा विधिविधानअनुसार समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।
एक अर्को प्रसंगमा उहाँले गठबन्धनका केही दलको आन्तरिक ब्यवस्थापनमा अलमल हुँदा मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको दाबी गर्नुभएको छ । उहाँले गठबन्धनमा भएका दलहरुबीच सहमति नहुँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताउनुभयो । उहाँले अब चाँडै सरकारले पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो ।