काठमाडौँ । काठमाडौँ उपत्यकामा कोरोना भाइरसविरुद्धको खोप अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको खोप ४० प्रतिशतले लगाएका छन् ।
काठमाडौँ उपत्यकामा १५ लाख ५५ हजार आठ सय ९५ जनाले पहिलो मात्रा र ११ लाख ७१ हजार चार सय २० पूर्ण मात्राको खोप लगाइसकेका छन् । मुलुकभरि पहिलो मात्रा १९.९ र पूर्ण मात्रा १८ प्रतिशतले खोप लगाइसकेका छन् ।
स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले कोभिड–१९ विरुद्धको खोप काठमाडौँ जिल्लामा पहिलो मात्रा ५० र पूर्ण मात्रा ४१ प्रतिशत जनसङ्ख्याले लगाइसकेको बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कम्तीमा ६० प्रतिशत जनसङ्ख्यालाई खोप लगाएमा रोग नियन्त्रण गर्न सकिने जनाइएको छ ।
काठमाडौँमा ११ लाख ३७ हजार एक सय ६८ पहिलो मात्रा र नौ लाख ३३ हजार तीन सय ६१ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।
यस्तै उहाँले भक्तपुरमा पहिलो र पूर्ण मात्रा खोप ४१ प्रतिशत जनसङ्ख्या तथा ललितपुरमा पहिलो मात्रा ४५ प्रतिशत र पूर्ण मात्रा ३८ प्रतिशत जनसङ्ख्याले लगाइसकेको जानकारी दिनुभयो ।
भक्तपुरमा एक लाख ५४ हजार आठ सय ३५ जनाले पहिलो मात्रा र एक लाख ५६ हजार आठ सय ८२ जनाले पूर्ण मात्राले खोप लगाइसकेका छन् । ललितपुर दुई लाख ६३ हजार आठ सय ९२ जनाले पहिलो मात्रा र दुई लाख २२ हजार तीन सय ७१ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।
मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसविरुद्धको पहिलो मात्रा ६० लाख ५७ हजार एक सय ९४ र पूर्ण मात्रा ५४ लाख ७३ हजार एक सय ५१ जनाले लगाएका छन् ।
महाशाखका निर्देशक डा लालले उपत्यकाका विशेष क्षेत्रमा काम गर्ने सबैजसोलाई खोप लगाइसकेको बताउनुभयो । पछिल्लो पटक शिक्षक र विद्यार्थीलाई पनि खोप लगाइसकिएको छ । “हामीले उपत्यकाका अग्रपङ्क्तिमा रहेर काम गर्ने सबैलाई खोप लगाइसकेका छौँ,” उहाँले भन्नुभयो, “अब सर्वसाधारण ४० वर्षभन्दा माथिकालाई आउने खोप लगाउँछौँ ।”
नेपाल सरकारले गत माघ १४ गतेदेखि खोप लगाउन सुरु गरेयता सात महिनामा यही भदौ १६ गते नै एक करोड ९२ हजार एक सय ६४ जना सर्वसाधारणले खोप लगाएका थिए ।
नेपालमा पहिलो पटक सङ्क्रमण देखिएको एक वर्षपछि नेपालमा खोप लगाइएको थियो । नेपालमा पहिलो पटक २०७६ साल माघ ९ गते सङ्क्रमण देखिएको थियो ।
सुरुमा ६५ वर्षभन्दा माथिका र स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सरसफाइकर्मी, कोभिड–१९ विरुद्धको रोकथाम र नियन्त्रणमा अग्रपङ्क्तिमा रहेका काम गर्ने व्यक्तिबाट सुरु गरिएको खोप अहिले ५० वर्षमाथिका प्रायः सवैलाई दिइसकेको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले बताउनुभयो ।
देशभर कोभिसिल्ड पहिलो मात्रा २४ लाख ९३ हजार तीन सय ३३ र दोस्रो मात्रा १४ लाख ४५ हजार तीन सय ५१ जनाले लगाइसकेका छन् ।
यस्तै भेरोसेल पहिलो मात्रा ३५ लाख ६३ हजार आठ सय ६१ र दोस्रो मात्रा २६ लाख २७ हजार ६ सय ५५ जना तथा जोन्सन एन्ड जोन्सन १४ लाख एक सय ४५ जनाले लगाइसकेका छन् । भदौ महिनामा सबभन्दा बढी पहिलो मात्रा भदौ ३० गते दुई लाख ९९ हजार एक सय ३१ जनाले लगाएका थिए ।