पोखरा । आजदेखि राष्ट्रिय फुटसल लिग सुरु हुँदैछ । पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा सुरु हुने उक्त फुटसल लिग असोज २२ सम्म चल्नेछ । सो लिगमा देशभरका १० टिमले प्रतिस्पर्धा गर्दैछन् ।
आयोजक एन्फाको फुटसल कमिटीले शुक्रबार पत्रकार सम्मेलन गरी सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । उद्घाटन खेल दिउँसो २ बजे राइजिङ क्लब धरान र स्काई गोल काठमाडौंबीच हुनेछ । दोस्रो खेलमा स्पोर्टस् क्यासल पोखरा र प्रभातफेरी युथ क्लब भिड्ने कमिटीका प्रमुख विनोद गुरुङले बताउनुभयो ।
प्रदेशमा छनोट टिम लिगमा खेल्ने एन्फाले जनाएको छ । एन्फाले लिगका लागि छनोट चरणका खेल विजेता र उपविजेता टिमलाई राष्ट्रिय लिगमा सहभागी गराएको हो । एन्फाले देशका ७ वटै प्रदेशमा छनोट चरणका खेलको आयोजना गरेको थियो । प्रदेश १ बाट फुटसल फाइभ धरान र दि राइजिङ क्लब धरान, बागमती प्रदेशबाट ढुकु फुटसल हब प्रालि, शंखमुल फुटसल प्रालि, प्रभातफेरि युथ क्लब र स्काइ गोल्स फुटसल काठमाडौं छनोट भएका छन् । गण्डकीबाट स्पोर्ट्स क्यासल प्रालि र सविन मेमोरियल फुटसल क्लब प्रालि पोखराले खेल्नेछन् भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिमबाट लुम्बिनी फुटसल प्रालि र झरना स्पोर्ट्स क्लब रुपन्देही लिगका लागि छनोट भएका छन् ।
राउन्ड रोबिन लिग आधारमा हुने प्रतियोगिताको लिग चरण भने असोज १९ सम्म हुनेछ । असोज २० र २१ मा नकआउट चरणका खेल र २२ गते फाइनल हुनेछ । विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोकृष्ट खेलाडी, गोलकिपर, डिफेन्डर, प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने एन्फाका मिडिया प्रमुख शैलेन्द्र अधिकारीले बताउनुभयो ।