काठमाडौं । चीनबाट थप ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ ।
नेपाल एयरलाइन्सको जहाज खोप लिएर शुक्रबार दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको विमानस्थल स्रोतले बताएको छ । सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो । जसमध्ये १६ लाख डोज खोप भदौ ४ र ५ गते नै आइसकेको छ । खोप ल्याउन निगमको वाइडवडी ३३० जहाज बिहीवार बेइजिङ गएको थियो ।
पहिलोपटक एकै खेपमा यति धेरै खोप ल्याइएको हो । थप खोप पनि ल्याउन कुराकानी भइरहेको छ । नेपालमा अहिलेसम्म १ करोड ३३ लाख खोप आइसकेको छ । खोप ल्याउन वरिष्ठ क्याप्टेन विजय लामाको नेतृत्वमा नेपाल वायुसेवा निगमको विमान बिहीबार राती बेइजिङ उडेको थियो ।
खोप आए लगत्तै प्रदेश स्तरमा वितरण गरी तुरुन्तै लगाउन सुरु गरिने तयारी सरकारले गरेको छ । अब थप तीन लाख मात्रा खोप नेपाली सेनाका लागि ल्याउने जनाइएको छ ।