काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले एमालेबाट काँस र पित्तल बाहिरिएको र अब ‘हिरा र सुन’ बाँकी रहेको बताउनुभएको छ । बुधबार नेकपा एमाले काठमाडौ जिल्लाका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले एमालेबाट बाहिरिएर फरक दल गठन गर्नेहरुलाई काँस र पित्तल भन्दै एमालेमा ‘हिरा र सुन’ बाँकी रहेको बताउनुभयो ।
नेता श्रेष्ठले एमाले सतिसालरुपी रुख रहेको र त्यो रुखमा फलेका केही फल कुहिएर झर्दैमा चिन्ता गर्नुपर्ने अवस्था नरहेको दाबी गर्नुभयो ।
‘नेकपा एमाले काँसका टुक्राजस्तो होइन, हिरा हो । त्यसका लागि राजनीतिक, वैचारिक, सैद्धान्तिक रुपमा प्रस्ट हुनुपर्छ एमालेमा त्यो गुण छ’, उहाँले भन्नुभयो, ‘सुन र पित्तल छुट्याउन सक्नुपर्छ । एमाले सुनको पार्टी हो, एमालेमा हिरा र सुनमात्रै बाँकी छ ।’ उहाँले पित्तल, काँसका टुक्राहरू छुट्टिएर गएको भन्दै त्यसले फरक नपर्ने जिकिर गर्नुभयो ।