काठमाडौँ । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको जीप रामेछापमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । बिहीबार बिहान मन्थली नगरपालिका वडा नम्बर ६ हात्तिसार कुनौलीबाट जीप खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्रीशंखर श्रेष्ठले बताउनुभयो ।
प्रदेश नम्बर ३-०१-२३ च ३५१३ नम्बरको जीप सडकबाट ६/७ सय मिटर तल खसेको उहाँले बताउनुभयो । घटनास्थलबाट एक जना बालकको उद्धार गरिएको छ ।
ओखलढुंगा घर भएका अन्दाजी ३४-३५ वर्षीय लाक्पा शेर्पा र उहाँकी श्रीमती फुरूबाको मृत्यु भएको छ । अर्का एकजनाको भने पहिचान नखुलेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । गम्भीर घाइते बालक अन्दाजी १२ वर्षीय पेम्बा शेर्पाको उपचारका लागि तामाकोशी अस्पताल लगिएको छ ।