धनगढी । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमालेभित्रका पदलोलुपहरुले पार्टी फुटाएको टिप्पणी गर्नुभएको छ । उहाँले १० बुँदे कार्यान्वयन भइसकेको अवस्थामा पार्टी फुटाउनुको कुनै अर्थ नभएको जिकिर गर्नुभयो ।
देश र जनताभन्दा पदलाई महत्व दिनेहरुले पार्टी फुटाएको उहाँको भनाइ छ ।
पार्टी विभाजनपछि पहिलो पटक धनगढीमा रहनुभएका नेता रावलले धनगढीस्थित कैलालीको पार्टी कार्यालयमा नेता कार्यकर्तालाई सम्बोधन गर्दै एकताबद्ध भएर अगाडि बढ्न सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई अपील गर्नुभयो ।
‘पार्टीको केन्द्रीय उपाध्यक्ष, सुदूरपश्चिमको समन्वय कमिटीको संयोजकको हैसियतले एमालेबाट उछिट्टिएर भ्रममा परेर जानुभएका व्यक्तिहरु र हाल एमालेमै रहेका कमरेडहरुलाई आह्वान गर्न चाहन्छु, विगतको कुरा बिर्सिदिनुस् अब,’ रावलले भन्नुभयो, ‘सबै एकताबद्ध भएर अगाडिको गन्तव्य हेर्नुस् । स्थानीय चुनाव र आमचुनाव हेरौं । स्वदेशी, विदेशी षड्यन्त्रलाई चकनाचुर पार्न एमालेमा फर्किन सकिन्छ ।’
नेता रावलले सुदूरपश्चिमको इञ्चार्जमा कुनै विवाद नभएको दाबी गर्दै अहिले आफू एमालेको उपाध्यक्ष र सुदूरपश्चिम संयोजकको हैसियतमा काम गरिरहेको बताउनुभयो ।
मंगलबार महेन्द्रनगर पुगेर एमालेका अर्का नेता लेखराज भट्टले पार्टीको सुदूरपश्चिम इन्चार्जमा कुनै विवाद नभएको बताउँदै आफू नै इन्चार्ज भएको दाबी गर्नुभयो ।