काठमाडौं । चीनबाट शुक्रबारसम्म ४४ लाख डोज कोरोनाविरुद्धको खोप नेपाल आउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आउँदो शुक्रबारसम्म सो खोप नेपाल आउने बताएको हो ।
मन्त्रालयका अनुसार चीनसंग खरीद गरेको ६० लाख डोज भेरोसेल खोपमध्ये १६ लाख डोज यसअघि नै आइसकेको थियो । बाँकी ४० लाख डोज खोप लिन नेपाल एयरलाइन्सको वाइडवडी जहाज १५ सेप्टेम्बरमा चीनको राजधानी बेइजिङ जादैछ सो जहाजले शुक्रबारसम्म ४० लाख डोज खोप काठमाडौं ल्याउनेछ ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप महाशाखा प्रमुख डा. सागर दाहालले नेपालमा भण्डारणमा रहेको खोप सकिएपछि थप ल्याउन लागिएको जानकारी दिनुभयो । दाहालका अनुसार यही शुक्रबारसम्म २ पटक गरेर खोप ल्याउने तयारी भइरहेको छ । उहाँले भन्नुभयो ‘यसअघि भण्डारणमा अन्य खोप भएकाले ल्याइएको थिएन, अहिले खोप खपत भएकाले ल्याउन लागेका हौं ।’
स्वास्थ्य मन्त्रालयले १८ वर्षमुनिका बालबालिकालाई दिन ४० लाख डोज मोडोर्ना खोप ल्याउने टुङ्गो लागिसकेको बताएको छ । त्यसैगरी ६० लाख डोज फाइजरको खोप ल्याउने प्रक्रिया अघि बढेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सार्वजनिक रुपमै बताइसक्नुभएको थियो ।