काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा नेकपा विप्लव समूहले काठमाडौंको सडक तताएको छ । विप्लव समूहले काठमाडौँमा प्रदर्शन गर्दै सडक राताम्ये बनाएको छ ।
सोमबार माइतीघरमा भएको प्रदर्शनमा महासचिव नेत्रविक्रम चन्द विप्लव, नेताहरु खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वलीलगायतका शीर्षस्थ नेताहरुको सहभागिता रहेको छ । विप्लव समूहले राष्ट्रघाती एमसीसी परियोजना कुनै पनि हालतमा संसद्बाट पास गर्न नहुने जिकिर गर्दै आएको छ । एमसीसी पास भए त्यसको परिणाम नराम्रो हुने चेतावनीसमेत सो समूहले दिएको छ ।
सडक र विद्युत प्रशारण लाइन निर्माणका लागि अमेरिकाले ५०० मिलियन डलर अनुदान दिन नेपाल सरकारसँग सन् २०१७ मा एमसीसी सम्झौता गरेको थियो ।
उक्त सम्झौता संसदबाट अनुमोदन गर्न नहुने भन्दै विभिन्न राजनीतिक दल र समूहले निरन्तर प्रदर्शन गर्दै आएका छन् । सोही क्रममा आज नेकपा विप्लव समूहले समेत एमसीसीको कडा प्रतिरोध गर्ने जनाउँदै काठमाडौँका सडकमा शक्ति प्रदर्शन गरेको हो ।